
दरौंदी ¥याफ्टिङ जस्तो नहोओस् गोरखामा प्याराग्लाइडिङ
गोरखा नगरपालिकाभित्रको पर्यटन विकास गर्न गोरखा नगरपालिका कार्यालयले कसैलाई जिम्मा नदिई आफैले नेतृत्व लिने जनाउँदै आएको छ । आवश्यक कामको जिम्मेवारी बिभिन्न संघसंस्थालाई दिने तर पर्यटन सम्बन्धी समिति, उपसमिति बनाएर कामको जिम्मेवारी दिन नसकिने नगरपालिकाको अवधारणा छ ।
यही क्रममा नगरपालिकाले केही पर्यटकीय सम्भावनाहरुको खोजी गरिरहेको छ । केही समयअघि रोट्रयाक्ट क्लव अफ गोरखालाई दरौंदी नदीमा ¥याफ्टिङको सम्भाव्यता अध्ययन गर्न प्रेरित गरेको थियो । अध्ययन पनि भयो तर सम्भावना खासै देखिएन । किनभने नदीमा पानीको मात्रा र्याफ्टिङका लागि पर्याप्त देखिएन ।
अहिले प्याराग्लाइडिङको चर्चा चलिरहेको छ । बिहिबार र शुक्रबार गोरखा दरबार, रानीवन क्षेत्रबाट प्याराग्लाइडरहरुले परीक्षण उडान गरिरहेका छन् । यसले गोरखा बजारमा पनि प्याराग्लाइडिङको सम्भावना प्रचूर देखिएको भनिएको छ । तर पूर्वाधार निर्माणको अभाव तथा इच्छाशक्तिको अभावका कारण प्याराग्लाइडिङको अभ्यास पनि सुन्य हुदै जाने त होइन भन्ने प्रश्न नउब्जिने होइन ।
सन् २०२१ देखि पोखरामा प्याराग्लाइडिङ बन्द हुनेछ । त्यहाँबाट बिस्थापित प्याराग्लाइडिङ अब गोरखा लगायत बिभिन्न ठाउँहरुमा फैलिनेवाला छ । त्यतिबेलाका लागि अहिलेदेखि नै प्रयास गर्दै जानुपर्छ । त्यहाँबाट बिदाइ भएका प्याराग्लाइडिङहरु धेरै भन्दा धेरैलाई गोरखामा स्वागत गर्न सकियोस् । यही लक्ष्यका साथ काम गर्नुपर्छ । यसका लागि समिति, उपसमिति बनाउनु परे पनि पछि हट्न हुदैन । एउटै मान्छेले धेरै काम गर्दा भूलचुक हुने सम्भावना धेरै हुन्छ । समिति बनाएर जिम्मा दिए काम चुस्त पो हुने हो कि सोच्नुपर्छ ।




