| सोमवार, कार्तिक २३, २०८३

गाउँका काङ्ग्रेसको सुझावको गाम्भीर्यता

नेपाली काङ्ग्रेस गोरखाले आसन्न अधिवेशनको तयारीस्वरुप विभिन्न कार्यक्रम आयोजना गर्न सुरु गरेको छ । क्षेत्र नं. २ को बारपाक सुलीकोट, अजीरकोट, सिरानचोक गाउँपालिका, पालुङ्टार नगरपालिका र गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्मका कार्यकर्ता भेला, अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न ग¥यो ।
अबको केही दिनमा क्षेत्र नं. १ का गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म, गण्डकी, शहिद लखन, भीमसेन, आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाको भेला तथा अन्तरक्रिया सुरु गर्नेछ ।
सम्पन्न भएका प्राय सबै भेलामा काङ्ग्रेस कार्यकर्ताहरुबाट विभिन्न राय, सुझाव संकलन भएको छ । कार्यकर्ताहरुले वडा कमिटी, गाउँ कमिटी, क्षेत्रीय कमिटी बनाउँदा माथिल्ला तहका नेताहरुले हस्ताक्षेप नगर्न, स्वविवेक प्रयोग गरेर नेतृत्व चयन गर्ने स्वतन्त्रता दिन सुझाएका छन् । ग्राउण्ड लेभलमै चुनेका नेता असल हुनेछन्, काठमाडौँबाट टीका लगाएका नेता कस्मेटिक, चक्लेटी हुनेछन्, जसले सही जनमन बुझ्दैनन्, नेतृत्व दिन सक्नेछैनन् भन्ने गाउँका कांग्रेसको आवाज छ ।
गुटबन्दीको प्रभाव गाउँतहमा परिसकेको छैन । गाउँका नेता, कार्यकर्तालाई भेटेर वा टेलिफोन गरी गुटबन्दी गर्न बाध्य नबनाउन पनि उनीहरुको माग छ । सकेसम्म सबै इकाइको अध्यक्ष सर्वसम्मत तरिकाले चुन्नुपर्ने, नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने, होश भएका ज्येष्ठ सदस्य र जोश भएका युवा सदस्य मिलेर पार्टी चलाउनु पर्ने सुझाव पनि संकलन भएका छन् ।
जिल्लाबाट नेतृत्व गर्ने सबै केन्द्रीय सदस्य, जिल्ला सभापति, सम्मानित नेताहरु मिलेर जिल्ला नेतृत्व पनि सर्वसम्मत बनाउनु पर्ने माग गाउँका कांग्रेसको छ ।
नेतृत्वले यी सुझावलाई गम्भीरतापूर्वक लिनसक्नुपर्छ अनि पार्टी जनमुखी बन्छ ।
यी सबै भन्दा पहिले अधिवेशनको मिति परिवर्तन नहुनेगरी सुनिश्चित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्