उत्तरी गोरखामा खाद्यान्न संकट हुन नपाओस्
उत्तरी गोरखा खाद्यान्न(विशेषगरी अन्नबाली) कम हुने क्षेत्र हो । त्यसमाथि पनि धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुदैन, चामल उत्पादन हुदैन । धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा खाद्यान्नका लागि बजारमा निर्भर छन् ।
बजारमा खाद्यान्न पर्याप्त भए चुमनुब्रीका बासिन्दाले खान पाउँछन्, खाद्यान्न संकट हुनसक्छ । धार्चेमा चामल उत्पादन नभए पनि कोदो, मकै, गहुँ पर्याप्त उब्जनी हुन्छ, भोकमरी लाग्दैन तर चुमनुब्रीमा न धान, न मकै, न गहुँ, न जौको राम्रो उत्पादन हुन्छ । बजारमा पर्याप्त खाद्यान्न (चामल) उपलब्ध भएन भने त्यस क्षेत्रमा भोकमरी निश्चित हुन्छ ।
जटिबुटी कारोबार र पर्यटन व्यवसायबाट आर्जन भएको नगदले तिब्बती बजारबाट खाद्यान्न आयात गरी त्यस भेगको जीविकोपार्जन हुने गरेको हो । गोरखाको मात्र होइन, ताप्लेजुङदेखि दार्चुलासम्मको अबस्था समान हो ।
अहिले कोरोनाको त्रासले चीन सरकारले नेपालसँग जोडिएका सबै नाका पूर्ण रुपमा बन्द गरेको छ । यसको प्रत्यक्ष रुपमा प्रभाव सीमावर्ती गाउँहरुमा परेको छ । ती गाउँहरुमा पुग्न सदरमुकामबाट एकसातासम्म पैदल हिड्नुपर्छ ।
त्यसमाथि पनि अहिले बाढी पहिरोका कारण तल्लो भेगबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ओसारपसार हुन सकेको छैन । अहिले घरघरमा चामल सिद्धिएको छ । नून, तेल, मरमसला, चिया, चिनी जस्ता दैनिक उपभोग्य खाद्यान्नको अभाव देखिन थालेको छ ।
केहीदिन हेलिकोप्टरबाट चामल ढुवानी गरी सिर्दिबास पु¥याउने प्रयास त गरिएको थियो, तर सो चामल सिर्दिबासमा मात्र ओह्रालिएको थियो । सिर्दिबासबाट सामागाउँ, छेकम्पार पुग्न पनि कठिन छ ।
मान्छे पनि हिड्न कठिन ती बाटामा खच्चडले सामान ढुवानी गर्न सक्दैन । त्यसैले ती सीमावर्ती गाउँहरुमा खाद्य संकट हुनबाट बचाउन चीनियाँ नाका खुलाउन वा हेलिकोप्टरबाट नियमित खाद्यान्न ढुवानी गर्न जरुरी छ ।




