नदीमा चेनवाला एक्साभेटर ?
दरौंदी नदीमा नदीजन्य निर्माण सामग्री उत्खननमा चेनवाला एक्साभेटर प्रयोग गरेको भन्दै बुधबार प्रहरीले एक्साभेटर चालकलाई पक्राउ गरेको छ । एक्साभेटर पनि नियन्त्रणमा लिएको छ । भालुस्वाँरामा ढुंगा, गिटी, बालुवा उत्खनन गर्दै गरेको अबस्थामा प्रहरीले चालक र एक्साभेटरलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले केही समय यता नदीमा अबैध दोहने गर्नेविरुद्ध कारबाही अभियान सञ्चालन गरेको छ । तर कतिपय ठाउँमा भने प्रहरीको कदमको वास्ता नगरी अवैध उत्खनन गर्ने गरेको भेटिएको हो ।
एकातिर लापार्बाही गर्ने ठेकेदार कारबाहीमा पर्न थालेका छन्, अर्कातिर अवैध नदी दोहन गर्नेहरु नियन्त्रणमा पर्न थालेका छन् । यो कदमले गर्दा आगामि दिनमा प्राकृतिक सम्पदाको दोहन गरेर मालामाल गर्न पल्केकाहरुलाई असहज बन्दै गएको छ, अर्कातिर कामै नगरी राज्यको ढुकुटी दोहन गर्न पल्केकाहरु पनि समस्यामा पर्ने भएका छन् ।हरेक राज्यको आ(आफ्नै नीति नियम हुन्छन् । उद्यमी व्यबसायीहरुले पनि आफ्नो मुलुकले अपनाएको नीति नियममा रहेर व्यापार, बिजनेश गर्नुपर्छ । अकूत कमाउने प्रलोभनमा नीति नियमलाई लत्याएर, संरक्षित सम्पदा, सम्पत्ति दोहन गरेर, उच्छृङ्खलतालाई बढवा दिने दिन अब छैन ।
राज्यले उद्योगी, व्यापारीहरुलाई लगानी मैत्री वातावरण बनाउनु पर्छ । यसमा दुईमत छैन । यसको अर्थ प्राकृतिक संरचना नै परिवर्तन हुने गरी दोहन गरेर नभै नीति र नियमभित्र रही व्यापार, बिजनेश गर्नलाई राज्यले उपयुक्त वातावरण निर्माण गरिदिनु पर्छ ।राज्य र उद्योगी, व्यबसायीको सम्वन्ध सुमधुर हुनुपर्छ । एउटा निकाय अर्कोसंग अन्तरघुलित हुनुपर्छ तर एउटा अर्कोभित्र बिलय हुनुहुदैन ।




