खोपको दायरा बढाएर नागरिकलाई सुरक्षित गर
अहिले गोरखाका विभिन्न पालिकाहरुमा कोभिड १९ विरुद्धको खोप चलिरहेको छ । चीनबाट प्राप्त भेरोसिल खोप चिनियाँ सीमावर्ती क्षेत्रमा धमाधम लगाइँदैछ । खोप हेलिकोप्टरबाट ढुवानी गरेर वडा वडाहरुमा पु¥याइएको थियो ।
सीमावर्ती गाउँहरु चुमनुब्री गाउँपालिकाका हुन् । चिनियाँ नाकाबन्दीका कारण र सदरमुकामबाट जाने पदमार्ग अवरुद्ध भएका कारण चुमनुब्री गाउँपालिकाका दुर्गम(सीमावर्ती) गाउँहरुमा अहिले खाद्यान्न संकटको अबस्था छ ।
त्यहाँका बासिन्दालाई खोप लगाएर कोरोनाको खतरामुक्त बनाएपछि सीमामा लगाइएको प्रतिवन्ध खुकुलो बनाउने उद्देश्यले पनि हुनसक्छ, सीमावर्ती गाउँका १८ बर्षभन्दा माथिका सबैलाई खोप लगाउन सुरु भएको छ ।
त्यस्तै अन्य पालिकाहरुमा पनि ५४ बर्षभन्दा माथिकालाई खोेप लगाइँदैछ । शिक्षक, प्राध्यापक, यातायात व्यवसायी, यातायात मजदुरहरुलाई पनि खोप लगाइँदैछ । स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीहरुलाई पनि खोप लगाइँदैछ ।
विभिन्न प्रावधान बनाएर अहिले खोपको दायरा बढाइएको छ, जुन सुखद कुरा हो । खोपले सतप्रतिशत कोरोना रोकथाम नगरे पनि यसले धेरै प्रतिशत रोकथाम गर्छ, संक्रमण भइहाले पनि खतरामुक्त बनाउन मद्दत गर्छ । अर्को लाभ त मानसिक रुपमा तन्दुरुस्त बनाउँछ । मैले खोप लगाएको छु, खतरामुक्त छु भनेर आत्मबल बढाउँछ । जब आत्मबल सुदृढ हुन्छ, उसमा रोगले ग्रस्त बनाउँदैन ।
सरकारले अझै यथासीघ्र धेरैभन्दा धेरै खोप आयातमा वृद्धि गरी धेरैभन्दा धेरै नेपालीलाई खोपको व्यवस्था गर्नुपर्छ । अनि कोरोनामुक्त मुलुक घोषणा गर्नुपर्छ ।
अहिले फेरि मुलुकमा कोरोना वृद्धि हुदैछ । फेरि मुलुकमा कडा निषेधाज्ञा गर्ने रे भन्ने हल्ला फैलिरहेको छ । नागरिकमा त्रास बढिरहेको छ । यो बेला खोपको दायरा बढाई सबैलाई खोपको व्यबस्था गरी कोरोनाबाट सुरक्षित गर्नु जरुरी छ ।




