कोरोना जोखिम बढ्ने गरी मुठभेडतिर नजाऔँ
अहिले सरकारले कोरोना विरुद्धको खोपको दायरा बढाइरहेको छ । बुधबारदेखि गोरखा नगरपालिकामा खोप अभियान सुरु हुदैछ । त्यसपछि क्रमशः अन्य पालिकाहरुमा पनि खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।
यसपटकको खोप ५५ बर्षमाथिका सर्वसाधारण, शिक्षक, प्राध्यापक, कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुरहरुलाई खोप लगाउन सुरु हुनेछ ।
त्यसपछि देशभित्र खोप आपूर्तिको क्रम पनि बढ्दै जानेछ । दायरा बढाउँदै सबै जनामा खोपको पहुँच पुग्नेछ ।
यो व्यवहारिकता नहेरी बल प्रयोग गरेर भीडभाड हुने काम गर्छौँ भन्नु जिम्मेवार कुरा होइन । कोरोना महामारीले व्यपार, व्यवसाय चौपट भएको दुईबर्ष भइसकेको छ । के यातायात व्यवसाय, के होटल वा अन्य व्यवसाय । जसले केही बर्षसम्मलाई पुग्नेगरी संचित गरेर राखेको छ, उसले जसोतसो गुजारा गरेको छ, तर जसले कमाएकोले तत्काल चल्ने गरी मात्र आर्जन गरेको छ, उ ढुकटुकी मात्र बचाएर अस्तित्वमा छ वा व्यवसायबाट विस्थापित भएको छ ।
यो अबस्था प्रायः सबै क्षेत्रतिर विद्यमान छ । एकातिर कोरोना बढेको बढ्यै छ, अर्कातिर व्यापार, व्यवसाय चौपट भएको छ । यस्तो अबस्थालाई मध्यनजर गरी विनाशकारी कोभिडलाई थप जोखिम नहुने गरी क्रमशः व्यापार व्यवसाय खोल्दै जाने नीति सरकारको छ ।
यस्तो बाध्यात्मक अबस्था मनन नगरी बल प्रयोग गरेर व्यवसाय खुलाउने हर्कत गर्दा त्यो कसैका लागि पनि लाभदायी हुदैन ।
अहिले चलिरहेका यातायातका साधनले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिदैन । यसले कोभिड फैलाउने सम्भावना ज्यादा छ । यसलाई व्यवस्थित गर्न छाडेर व्यवसाय मात्र चलाउँछौँ भनेर जिकिर गर्नु जिम्मेवार व्यवसायीको दायित्वभित्र पर्दैन ।




