दुर्गममा खाद्य संकट हुन नपाओस्
अहिले गोरखाको दुर्गम क्षेत्र जाने बाटो बाढी, पहिरोले क्षतविक्षत भएको छ । बाटो त सुगम क्षेत्रमा पनि क्षतविक्षत नै छ तर सुगमका बाटो मर्मतसम्भार गर्नै नसक्ने खालका छैनन् । सुगमको बाटो बिग्रँदा त्यस क्षेत्रका मान्छेमा भोकमरी पर्दैन ।
सुगम क्षेत्रमा खेतीपाती हुन्छ । आफ्नै उब्जनी नभएपनि किनेर, सरसापट, ऐँचोपैचो गरेर खान सक्ने अबस्था हुन्छ । तर दुर्गममा सबका सब घरमा खाद्यान्न सिद्धिएको हुन्छ । कसले कसलाई सरसापट, ऐँचोपैँचो दिने ?
नागरिक तहबाट समाधान हुन नसक्ने समस्या समाधानका लागि यस्तो ठाउँमा सरकार सरिक हुनुपर्छ । सरकारले अग्रसरता लिनुपर्छ ।
विशेषगरी अहिले उत्तरी क्षेत्रमा जाने बाटो यारु बगरमा र जगत बगरमा बिग्रिएको छ । अन्य ग्रामीण क्षेत्र जाने ठाउँमा पनि मान्छे मात्र मुस्किलले हिड्न सक्ने गरी बाटो बिग्रिएको छ, जहाँ खच्चड हिड्न सक्दैनन् । जब खच्चड हिड्न सक्दैन भने त्यहाँ खाद्यान्न ढुवानी गर्ने अर्को उपाय छैन । मान्छेले ढुवानी गरेर पर्याप्त खाद्यान्न पुग्दैन ।
बुधबार दिनभर सिर्दिबासको फिलिममा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ८५ क्विण्टल चामल ढुवानी गरेको छ । यसले फिलिम आसपासका क्षेत्रलाई खाद्यान्न पुग्न सक्छ । त्यहाँ आसपासको समस्या थेग्न सक्छ तर त्यहाँभन्दा माथि पनि छ वटा वडाहरु छन् । छ वटा वडामा कैयौँ टोलहरु छन् । त्यहाँका बासिन्दासम्म यो चामल पुग्दैन । किनभने ढुवानी गर्ने खच्चड बाटोको समस्याका कारण ती गाउँहरुमा जान सक्दैन ।
यस्तो बेला समस्याको समाधान भनेको हेलिकोप्टरले प्रत्येक वडाको केन्द्रसम्म ढुवानी गरिदिने । अन्यथा दुर्गमका बासिन्दालाई राहतको चामल आकाशको फल, आँखातरी मर सरह हुनेछ ।




