विद्युत, नेट अभावले भुक्तानी प्रक्रिया नरोकियुन्
‘आलोचना गर्न सजिलो हुन्छ, काम गर्न कठिन हुन्छ’, यो सबैले भन्छन् । यो सत्य हो पनि । तर सबैले यसो भन्छन् भन्दैमा आलोचना गर्नचाहिँ छाड्नु हुन्न ।
भन्न त ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ पनि भन्छन् । यो पनि सही नै हो । यी सब अनुकूलता हेरी व्याख्या गर्ने कुरा हुन् ।
अहिले बाढी पहिरोले गाउँघरमा विजुली बत्ती छैन । खानेपानी छैन । गोरेटो, सडक छैन । यी सब चुपचाप सहेर बसिरहे पुनर्निर्माण हुदैन । ‘नरोएको बच्चालाई आमाले दूध पनि चुसाउँदिनन्’ पनि भन्ने गरिन्छ त्यसैले आवश्यकता परेको कुरा बारे आवाज उठाउनै पर्छ, भन्नै पर्छ ।
अहिले जिल्लाका प्राय पालिकाहरुमा विद्युत छैन, इन्टरनेट छैन । जसले गर्दा असार २५ गतेभित्र गरिसक्नु पर्ने भुक्तानी प्रक्रिया समस्यामा परेको छ । विशेषगरी पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र अजीरकोट गाउँपालिका यो समस्यामा छन् ।
धार्चे गाउँपालिकाले त कार्यालय नै स्थानान्तरण गरेर आरुघाटमा ल्याएको छ । चुमनुब्रीले पनि अस्थायी मुकाम जिल्ला सदरमुकाममा बनाएको छ ।
धार्चे र चुमनुब्रीको कठिनाई, जटिलता अरु पालिकासँग तुलनै हुदैन किनभने त्यहाँको जटिलता अबर्णनीय छ । के मात्र कठिनाइ छैन र ? अहिलेको भुक्तानी प्रक्रियालाई सहज बनाउन ती पालिकाहरुले सुविधा सम्पन्न ठाउँमा कार्यालय स्थानान्तरण गरेका छन् । बाँकी अरु पालिकाहरुमा पनि विजुली, इन्टरनेट नभएकाले समस्या भइरहेको छ ।
त्यसैले ती पालिकाहरुमा विद्युत अबरुद्ध हुनुको कारण यथासीघ्र पत्ता लगाई विद्युत सुचारु गर्नतिर युद्धस्तरमा लाग्नु पर्छ । इन्टरनेट प्रदायक संस्थाले पनि युद्धस्तरमा काम गरेर अबरुद्ध भएको सेवा सञ्चालन गर्नुपर्छ ।




