| सोमवार, कार्तिक २३, २०८३

शिक्षित परिबारभित्रै ‘कुप्रथा’ लज्जास्पद

एक जना दलित समुदायकी किशोरीले दलित भएकै कारण कोठा भाडामा नपाएको बिषय अहिले देशभर चर्चाको बिषय बनेको छ । घर भाडामा दिने नदिने घरबेटीको मर्जी हो भनेर चित्त बुझाएको भए पनि हुनेथियो तर उनले यो प्रथाको जरोकिलो उखेल्नुपर्छ भनेर कानूनी कारबाहीको प्रक्रियामा गइन् ।
फलस्वरुप प्रहरीले ती घरबेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु ग¥यो । यसले एउटा सन्देश प्रबाह गरेको छ । अब यस्तो हुनेछैन भन्ने अपेक्षा गरौँ ।
देशभर यही चर्चा भइरहेका बेला गोरखामा पनि योसँग मिल्दोजुल्दो घटना भएको छ । भीमसेनथापा गाउँपालिका वडा नं. ८ का एक पौडेल परिबारले घरपालुवा पशुचौपायालाई खोप लगाउने कार्यक्रममा गएका दलित पशु स्वास्थ्यकर्मीलाई पशुचौपाया छुन दिएनन् । गोठभित्र कुलदेवता हुन्छन् त्यसैले त्यहाँभित्र प्रवेश गर्नुहुन्न भन्ने बहाना बनाएर दलितलाई गोठभित्र प्रवेश गर्न दिएनन् ।
पौडेल परिबार पढालेखा परिबार हुन् । गाउँको शिक्षाको नेतृत्व उनको खानदानले गरेका छन् । तर समाजले देख्ने गरी छुवाछुतको भेदभावी व्यवहार गर्नु लज्जाजनक कुरा हो । यो शिक्षित, सभ्य परिबारलाई शोभनीय हुदैन ।
विकास र परिवर्तन भन्ने कुरा एक्कासी हुने कुरा होइन । विस्तारै हुदै जान्छ । ५० को दशक र ७० को दशककै परिवर्तन दाँज्दा पनि ठूलै खाडल देखिन्छ । एक्कासी विकास खोज्न कि चीनमा झै साँस्कृतिक क्रान्ति गर्नुपर्छ ।
यद्यपि शिक्षित, सभ्य अगुवाले आफ्नो परिबार, समुदायभित्र सकेसम्म जातीय, बर्गीय, लैंगिक इत्यादि भेदभाव हुन दिनुहुदैन । छुवाछुत, बोक्सी आरोप जस्ता बिषय अन्धविश्वास, कुरीति हुन् यिनलाई हटाउनुपर्छ भन्ने ‘कानून’ पालनामा चुक्नु वुद्धिमता हुदैन । सभ्य, शिक्षित परिबारमा यो शोभनीय हुदैन ।

प्रतिक्रिया दिनुहोस्