| बुधबार, असार ९, २०८३

बजेट विकासमा खर्च गर्ने क्षमता

चालु आर्थिक बर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी छ । यतिबेला पुँजीगत तर्फको बजेट कम्तीमा पनि ८० प्रतिशत खर्च भइसक्नु पर्ने हो । जेठसम्म सबै योजना सम्पन्न भएर असारमा अनुगमन गर्ने र चेक भुक्तानी दिनु पर्ने अबस्था हो । तर यतिबेला पनि अधिकांश स्थानीय तहको सरदर ४०÷५० प्रतिशत बजेट मात्र खर्च भएको छ ।
हामी गरिब देशका नागरिक, हामीसंग विकास निर्माणको बजेट यसै कम हुन्छ । कम बजेट पनि खर्च नहुनु भनेको हाम्रो कार्य क्षमताको अभाव हो ।
भलै बजेट खर्च नहुनुमा धेरै पक्षको कमजोरी हुन्छ । कतिपय स्थानीय तहले कर्मचारी अभावले गर्दा समयमा योजना सम्झौता गर्न नसकेको, कुन शीर्षकको बजेट कसरी खर्च गर्ने भनेर सही जानकारी नभएको जस्ता कारण एकातिर छन्, उपभोक्ताले नै योजना सम्झौता गर्न आलटाल गरिरहनु अर्को कमजोरी पक्ष छ । त्यसैगरी सम्पन्न गरेका कामको बिल भरपाई फस्र्याैट गर्न नल्याउनु पनि अर्को कमजोरीको पाटो हो । त्यस्तै बिल भरपाई फस्र्यौट गर्न ल्याए तापनि कर्मचारी तथा जनप्रतिनिधिले योजना अनुगमन नगरेको भन्दै फरफारक गर्न आलटाल गरिरहनु अर्को कमजोरी पक्ष हो ।
यी बिभिन्न कमजोरीलाई सच्याएर आगामि दिनमा अधिक बजेट खर्च गर्ने परम्पराको थालनी हुनुपर्छ । समयअघि नै काम सम्पन्न गरी बजेट सकेर थप बजेट माग गर्ने हैसियत पनि राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्