नेपाल टेलिकमको सेवा कम
नेपाल टेलिकमले जिल्लाका सबै भेगमा सेवा बिस्तार गरेको छ । सुगमदेखि बिकट उत्तरी सीमावर्ती क्षेत्रमा पनि सेवा बिस्तार गरेको हो ।
यद्यपि अन्तिम गाउँहरु साम्दो र छुले, निलेमा सेवा प्रभावकारी छैन । नेटवर्क पाउन मुस्किल पर्छ । निजी कम्पनीहरुले व्यापारिक दृष्टिकोणले मात्र प्रशारण गरेका हुन् सरकारी कम्पनीले व्यापारिक र सेवाभाव दुवै दृष्टिकोणले काम गरिरहेको छ त्यसैले उपभोक्ताको संख्या न्यून रहेका दुर्गममा पनि सेवा प्रवाह गरेको हो ।
यद्यपि चुमनुब्रीका कतिपय वडामा सेवा दुरुस्त छैन । विशेषगरी वडा नं. ३ को न्याकमा र वडा नं. ६ को लोक्पामा मोबाइल सेवा अहिलेसम्म पनि छैन । न्याकका ४५ घरधुरीका बासिन्दा फोन गर्न गाउँबाट परको उच्च भाग खोज्दै जानुपर्छ । लोक्पाका ४५ घरका बासिन्दा फोन गर्न तीनघण्टा हिडेर चुम्लिङ पुग्नुपर्ने बाध्यता छ ।
मोबाइल सेवा भएको फिलिम, देओल, पाङसिङ, आङासस्र्युँ, घट्टेखोला, सिर्दिबास, सल्लेरी, जगत, भालुवन लगायतका ठाउँमा पनि अहिले सेवा अबरुद्ध छ । फिलिम, देओल, पाङसिङ, आङासस्र्युँ, घट्टेखोलामा स्काई फोन मात्र चल्ने हो । त्यो पनि बिगत एकसतादेखि सेवा अबरुद्ध छ । यत्तिका दिनसम्म पनि के समस्या भएको हो भन्नेसम्म पनि पत्ता लगाउन सकेको छैन । अन्य ठाउँको टावरमा त विद्युत सेवा अवरुद्ध छ । बाढीले टर्बाइनमा समस्या पैदा गरेपछि मोबाइल टावरमा विद्युत सेवा अबरुद्ध छ ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानीको टावर पनि एकहप्तादेखि डाउन छ । गण्डकी गाउँपालिकाका धेरै वडाहरु पनि फोन सेवा चलेको छैन ।
फोन सेवा अबरुद्ध भएको हप्तौँ वित्दा पनि समस्या पहिचान नहुनु, मर्मतसम्भार नहुनु दुखद छ । यसप्रति टेलिकमको सेवा चुस्त, दुरुस्त हुनैपर्छ ।




