बाढी पहिरोबाट सचेत, सजग रहनुस्
मनसुनको आरम्भमै पहाडी जनजीवन बाढी पहिरोले नराम्ररी प्रभावित भयो । यो दशकौँ बिगतको भन्दा बिल्कुल नयाँ घटना हो । नत्र बिगतमा साउन लागेपछि यस्तो हुने गथ्र्यो ।
कुरो यो बेला र त्यो बेला यस्तो दुर्घटना भयो भन्ने होइन, यस्तो हुन कसरी नदिने, भइहाले कसरी बच्ने भन्ने हो ।
यतिले मात्र पुग्दैन, किन यस्तो हुन्छ भन्ने खोज अनुसन्धानको पनि खाँचो छ ।
हिजो आज पहाडमा बाढी पहिरोको बितण्डा छ । अब यही ताण्डब एकदुई दिनभित्र तराईमा देखिन्छ । पहाडमा बाढी पहिरो, तराईमा डुबान देख्ने नेपाली आँखा अभ्यस्त छ ।
तीन दिन लगातार परेको झरीले दर्जनौँ मरेका छन्, दर्जनौ बेपत्ता छन् । सयौँ परिबार घरबारबिहिन भइसकेका छन् ।
सयौँ उच्च जोखिममा पनि छन् ।
सबैभन्दा पहिले त बाढी पहिरोको चपेटामा परेका पहाडी समुदायलाई उद्धारको खाँचो छ । त्यसपछि उनीहरुलाई राहत र जीविकोपार्जनको खाँचो पर्छ ।
यो क्रम उपक्रम चलेको बर्षौँ भइसक्यो । यो सिजनमा यस्तो हुन्छ, हुनेछ भन्नेमा पनि हाम्रा सरकार, जनप्रतिनिधि, कर्मचारीहरु अभ्यस्त भइसके । बिगतको दुर्घटनामा त्यो प¥यो, आजको दुर्घटनामा यो प¥यो, भोलि को पर्छ, पर्छ ।
पर्ने त अवस्वयम्भावी छ, तैपनि यस्ता घटना न्यूनिकरणमा घनिभूत ढंगले लागेको पाइँदैन । अनि परेपछि मात्रै त्रिपालको जोहो गर्न लाग्छन् ।
मानवीय क्षति हुन्छ । कैयौँको जीवन गुम्छ, आफन्त गुम्छन्, लाखौँ, करोडौँ अरबौँको लागतमा निर्माण भएका वा प्रकृतिक भौतिक संरचना तहसनहस हुन्छ । पिडामा पर्ने परिहाल्छ, कोही उद्धारमा खटिन्छन्, कोही राहतमा खटिन्छन् ।
बाँकी रमिते हुन्छन् । यी सब घटना हुञ्जेलका लागि हो, बाँकी समय सबै चुपचाप बस्छन् । यस्ता घटनालाई कसरी न्युनिकरण गर्ने, कसरी हुन नदिने भन्नेमा कसैले चासो दिदैनन् । अबको खाँचो यस्ता घटना हुन नदिने हो ।




