अस्पताललाई रवाफरहित, विवादरहित बनाऊ
गोरखा अस्पताल जिल्लाको स्वास्थ्य सेवाको धरोहर हो । जिल्लाभित्र जहाँ दुर्घटना परोस् वा महामारी फैलियोस्, सबैले उपचार सेवा पाउने आस्थाको केन्द्र गोरखा अस्पताल हो । त्यसैले यसलाई सुधार गर्नु, यसलाई संवृद्ध बनाउनु सबैको दायित्व हो । यहाँ काम गर्ने चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरुमो मनोबल, आत्मबल उच्च बनाउनु सबैको कर्तव्य हो ।
कुनैकुनै बेला अनपेक्षित विवाद सिर्जना हुन्छ ।
विवाद सेवाग्राहीका कारणले पनि उत्पन्न हुन्छ, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका कारणले पनि उत्पन्न हुन्छ । जो जसका कारण विवाद उत्पन्न भएपनि त्यो दुखद हो । त्यसको असर र प्रभाव पर्ने सेवाग्राहीलाई नै हो ।
सक्षमहरु उपचार गर्न जाने स्तरीय अस्पताल ठूला सहरहरुमा छन् । असर पर्ने यिनै निम्नबर्गीय नागरिकलाई हो । हालसालै गोरखा अस्पतालको आन्तरिक किचलो बाहिरसम्म प्रदर्शन भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको रवाफले आजित भएर व्यवस्थापन समिति मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्षसमक्ष गुनासो पोखेका छन् ।
समितिले तत्काल बैठक आव्हान गरी विवाद साम्य गरेको छ । यो सुखद पाटो छ । यति छिट्टै विवाद साम्य हुन सक्नु प्रसंसनीय पनि छ । सहमतिपछि मेडिकल सुपरिटेण्डेण्टको रवाफ कम हुन्छ कि हुदैन, हेर्न बाँकी नै छ । बास्तविक ठूलाले आफू सर्वोच्च र अरु निरिह हुन् भन्ने ठान्दैनन् । जसले ठान्छ त्यो सर्वोच्च हुदैहुदैन ।
यदि कर्मचारीभित्र पनि यस्तै खालको दम्भ भएकाले विवाद भएको हो कि ? जहाँतहीँ संगठन बनाउने, कर्तव्य निर्वाह नगरी अधिकार मात्र खोजी विरोध र विद्रोह गरिरहने प्रवृत्ति हावी हुने गरेको पनि सबैमाझ छिपेको छैन । यस्ता दुवै खालका अबस्थाले गोरखा अस्पतालमा ठाउँ नपाओस् । कोभिडका बेला मिलेरै अघि बढिरहुन् ।




