| सोमवार, कार्तिक २३, २०८३

तेलको बजार समस्यामा प्रशासनको सीघ्र एक्सन प्रसंसनीय

गोरखा बजारका थोक बिक्रेताले किराना पसलेलाई तोरीको तेल किन्न जाँदा भटमासको तेल अनिबार्य गरेपछि तेलसम्बन्धी समस्या सार्वजनिक भएको हो ।
आवश्यकै नभएको भटमासको तेल किन्न बाध्य पारिएपछि किराना पसलेले जिल्ला प्रशासन कार्यालय गुहारेका थिए भने यसबारेमा दरौँदी दैनिकमा समाचार प्रकाशन भएको थियो । यसलगत्तै जिल्ला प्रशासन कार्यालयले सदरमुकामका तेलका थोक बिक्रेतासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा थोक बिक्रेताहरुले आफूहरुलाई पनि वीरगञ्जस्थित तेल मिलहरुले अनावश्यक रुपमा भटमासको तेल किन्न बाध्य पारिएको गुनासो गरेका थिए । माथिल्लो तहबाट आफूहरुलाई बाध्य पारेपछि आफूहरुसँग थुप्रिएका भटमासका तेलहरु आफू माताहतका व्यापारीहरुलाई किनिदिन उनीहरुले आग्रह गर्ने गरेका थिए ।

थोक बिक्रेताहरुसँगको अन्तरक्रिया पछि बास्तविकता बुझेका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले मिल रहेको जिल्ला बाराका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अनावश्यक तेल किन्न बाध्य पार्न नपाउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
त्यहाँका प्रमुख जिल्ला अधिकारीले मिल उद्यमीहरुको बास्तविकता बुझेर उनीहरुलाई त्यसरी जबर्जस्ती भटमासको तेल नपठाउन निर्देशन दिएका छन् । अब गोरखाका व्यापारीहरु अनाबश्यक रुपमा भटमासको तेल किन्न बाध्य छैनन् र यहाँका किराना व्यापारीहरुलाई जबर्जस्ती किनाउन पनि बाध्य पार्ने छैनन् ।

हामी जुनसुकै कामको पनि छिट्टै आलोचना गर्न सिपालु छौँ तर राम्रा कामको प्रसंसा गर्न कञ्जुस्याई गर्छौँ । त्यसरी पूर्वाग्रही हुनु हुदैन । राम्रो कामको मुक्तकण्ठले प्रसंसा गर्नुपर्छ । बजारमा देखिएको अनियमितता सीघ्र रुपमा समाधान गरेकामा प्रमुख जिल्ला अधिकारी पौडेल धन्यवादका पात्र छन् । यसको मुक्तकण्ठले प्रसंसा वाञ्छनीय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्