| बुधबार, असार ९, २०८३

ढोका खोलेर बिरालु कुट्ने प्रवृत्तिले लक्ष्य भेटिदैन

गोरखाको मुख्य समस्यामा अहिले विकास निर्माणको काम अलपत्र पर्ने ठेकेदारको गतिबिधि र नदीजन्य सामग्री दोहन गर्ने तस्करको गतिविधि देखिएको छ ।
यी दुवै समस्यालाई हालै मात्र गोरखामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी र नयाँ एसपीले संबोधन गर्ने प्रयास गरेका छन् । काम नगर्ने ठेकेदारलाई सिडियोले खोज्दैछन् भने बालुवा तस्कर गर्नेलाई एसपीले खोजी गर्दैछन् । दुवै बिषयमा दुवैजनाले कडाइका साथ कारबाही अघि बढाउने हुँकार गरेका छन् । यसबाट ठेकेदार तथा तस्कर सजग छन् ।
बुधबार काम अलपत्र पार्ने ठेकेदारहरुसंग बैठक सम्पन्न भयो । प्रजिअले काममा ढिलाइ हुनुको कारण सोधखोज गरे । निर्माण ब्यबसायीले निर्माण सामग्री र सरकारी कर्मचारीका कारण काममा ढिलाइ भएको लज्जास्पद तर्क गरे । निर्माण सामग्री गोरखाबाट जिल्लाबाहिर निकासी हुन्छ । कतिपय गाउँपालिकाले निकासी कर उठाइरहेका छन् । तर निर्माण ब्यबसायीहरुले बेतुकको जवाफ दिएका छन् । जिल्ला प्रशासन कार्यालयले यसमा चित्त बुझाउने ठाउँ छैन । निर्धारित समय सकिँदासम्म अत्यन्तै न्यून काम भएका योजना धेरै छन् । उनीहरुलाई नसिहद दिनु नै आगामि दिनमा विकासको कामलाई तिब्रता दिनु हो । अन्यथा सोधखोज मात्र गरेर छोडिदिँदा ढोका खोलेर बिरालु कुटेजस्तो मात्र हुन्छ । यसले उनीहरुको मनोबल बढ्ने काम मात्र हुन्छ ।
तसर्थ बिषय उठान गरिसकेपछि तर्किक निश्कर्षमा पुग्नु नै बेश हुन्छ । त्यस्तै नदीजन्य सामग्री तस्करीमा कडाइ गर्ने उद्घोष गरेर कोही पनि पक्राउ नगर्ने हो भने नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तो मात्र हुन्छ । कडाइको नतिजा समेत देखिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्