गोरखा प्रवेश गर्ने सबै नाकामा कडा निगरानी आवश्यक
छिमेकी मित्रराष्टू भारतमा कोरोनाको डँडेलो सल्किएपछि त्यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रुपमा परेको छ । शनिबार एकै दिनमा पाँचहजार सातसय ६३ जना संक्रमित भए । बिगत २४ घण्टाको अवधिमा कोभिडका कारण शनिबार १९ जनाको मृत्यू भयो ।
दिनदिनै नयाँ रेकर्ड कायम गर्दै कोरोना संक्रमणको डँडेलो नेपालमा पनि सल्किएको छ ।
काठमाडौँ, चितवन, वीरगञ्ज लगायतका देशका विभिन्न सहरहरुमा निषेधाज्ञा जारी भएका छन् । अबस्था बिकराल बन्दै गइरहेको छ ।
अबस्था चिन्ताजनक भए पनि यो समाधानरहित समस्या होइन । कोरोनाको समाधान भनेकै यसबाट बच्नु र बचाउनु हो । बच्ने र बचाउने भनेकै भौतिक दुरी कायम गर्ने हो । भौतिक दुरी कायम गर्न बाहिर ननिस्कनु हो । बाहिर निस्केपछि व्यक्तिव्यक्ति बीच कम्तीमा दुई मिटर दुरी कायम गर्नु हो । मास्क लगाउनु हो । बारम्बार हात साबुनपानी वा सेनिटाइजरले सफा गर्नु हो । मानसिक रुपमा सबल रहनु हो ।
भीडभाड कम गर्न गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाले आफ्ना पालिका प्रवेश गर्ने मुख्य नाकाहरुमा हेल्थडेस्क सञ्चालन गरेका छन् । आँबुखैरेनीबाट प्रवेश गर्ने नाकामा यात्रुको स्वास्थ्य परीक्षणको काम भइरहेको छ । आरुघाटले पनि धादिङबाट प्रवेश गर्ने ठाउँमा हेल्थडेस्क राखेर काम गरिरहेको छ ।
यी दुई पालिकाले सकारात्मक र उदाहरणीय अभ्यास गरेका छन् । गोरखा नगरपालिका र आरुघाट गाउँपालिका प्रवेश गर्ने पनि अझै धेरै नाकाहरु छन् । सबै ठाउँमा निगरानी बढाउँदा उत्तम हुन्छ । त्यस्तै अरु पालिकाहरुले पनि आफ्नो पालिकालाई पर्गेल्न सक्नु पर्छ । सबै नाकामा टोली परिचालन गरी रोक्ने होइन, जाच्ने गर्नुपर्छ ।




