| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको आइसियू सञ्चालन गर्न नयाँ समितिले अगुवाइ लियोस्

केही दिनयता गोरखा अस्पताललाई कोरोना अस्पतालको रुपमा परिणत गरिएको छ । यहाँ सर्वसाधारणका लागि सञ्चालित ओपिडी सेवा बन्द गरिएको छ र कोभिड अस्पताल चलाइएको छ ।
तर कोभिड अस्पतालमा आइसियू कक्ष छैन ।

दुई बेडको आइसियू त छ, तर अस्पताल प्रशासनका अनुसार त्यो आइसियू कोभिड बिरामीका लागि होइन । त्यहाँ त पोष्ट अपरेशन बिरामीहरुलाई मात्र राखिन्छ । थोरै समयका लागि मात्र सञ्चालन गर्न सकिने, लामो समयका लागि प्रयोग गर्न नसकिने भएकाले कोभिड बिरामीका लागि सो आइसियू प्रयोग नगरिने मेडिकल सुपरीटेण्डेण्ट शान्ति भुर्तेलको भनाइ छ ।
सो आइसियू प्रयोगबिहिन भएकाले केहीदिनअघि अलिकति समस्या देखिएका दुई जना बिरामीलाई पोखरा रेफर गरिएको छ ।

रेफर गरेपछि संकटग्रस्त(जोखिम) बिरामीको टेण्सन लिनु नपर्ने भएकाले पनि अस्पतालले आइसियूलाई प्रयोग बिहिन बनाएको हुनसक्छ । यसको बारेमा सम्बन्धित निकायले चासो लिनु जरुरी छ । कडा बिरामीलाई रिफर गरेर पठाएपछि तनाबबाट मुक्त भइन्छ भन्ने सोच त बिकास भएन ?
बिरामी छटपटाउन थाल्यो, बाहिर जिल्लाका अस्पतालमा पनि आइसियू बेड नपाइने अबस्था सिर्जना भयो भने के बिरामीलाई माया मार्ने ? कि ती आइसियू चलाउने ? सोच्नुपर्ने बेला घर्किन लागिसक्यो ।
अहिले अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएको थियो ।

नयाँ समितिले नयाँ काम गरेर श्रेय लिनुपर्ने अबस्था सिर्जना भएको छ । त्यसैले नयाँ समितिले अब ढिला नगरी आइसियू सञ्चालनको वातावरण बनाउनु पर्छ । बेलामा माइलेज लिएपछि समिति अघि बढ्छ, बढ्छ, पछाडि फर्कनु पर्दैन ।
त्यसैले नयाँ समितिले अगुवाइ लिएर कोभिडका बिरामीका लागि आइसियू सञ्चालन गर्ने सामथ्र्य राखोस् ।

प्रतिक्रिया दिनुहोस्