घरबाट बाहिर कम निस्कौँ, कोरोना ननिम्त्याउऔँ
भौगोलिक रुपमा पनि ठूलो र जनघनत्वका दृष्टिले पनि विश्वकै दोस्रो ठूलो हिन्दूस्तानमा कोरोना संक्रमण चिन्ताजनक अबस्थमा पुगेको छ । भ्याण्टिलेटर, आइसियू सेवा त परको कुरा, भुइँमै राखेर अक्सिजन लगाउन पनि नपाइएको अबस्था छ ।
लाश जलाउने ठाउँको समेत अभाव भएको दृश्य हृदयविदारक छ । यस्तो अबस्था भारतका लागि मात्र नभै मानव सभ्यताका लागि नै चिन्ताजनक हो ।
केही दिनयता नेपालमा पनि कोरोना संक्रमण अति उच्च गतिमा बढिरहेको छ । मंगलबार एकैदिन चार हजार पाँचसय जना थपिएका छन् । कतिपय जिल्लामा अस्पतालका शैया भरिएका छन् । एउटै शैयामा तीनजनासम्म कोचेर उपचार गर्नुपरेको अबस्था छ ।
नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, काठमाडौँको अबस्था जटिल बन्दै गएको छ । सिसिएमसीको आग्रहअनुसार देशभरका शैक्षिक संस्था बन्द भइसकेका छन् । आज र भोलिदेखि ठूला शहरहरुमा निषेधाज्ञा लागु हुदैछन् ।
परिस्थिति विस्तारै कसिलो बन्दैछ । त्यसैले अब आम नागरिक पनि बाहिर निस्किरहनु हुदैन । अत्यन्त जरुरी काम परेमात्र सहरमा निस्कनु पर्छ । रहरले, डुल्न, घुम्न, तमासा हेर्न भनेर अब घरबाट निस्कनु मुख्र्याईँ हुनेछ ।
गोरखाकै सन्दर्भमा मंगलबार एकैदिनमा ४८ जना संक्रमित थपिएका छन् । दिनहूँ यो संख्या दोब्बर, तेब्बर बढ्दै जानेछ । अनि जताततै संक्रमित हुनेछन् । गतबर्ष त सरकारले आइसोलेशन सञ्चालन गरेको थियो, यो बर्ष त्यो पनि छैन । होम आइसोलेशनमा स्वास्थ्य सावधानी कम हुनेछ । अनि यसको फैलावट अनियन्त्रित हुदै जाँदा परिवेश अकल्पनीय हुनेछ । त्यसैले यो बेला बाहिर ननिस्किऔँ । निस्कनै पर्ने बाध्यत्मक अबस्था आएमा स्वास्थ्य सावधानी अपनाऔँ ।




