लार्के सडक बन्ने सकारात्मक पहल
लार्के सडक निर्माणका लागि बिगत तीनबर्षदेखि गरेको पहल बालुवामा पानी भयो । आईईई नगरी सडक निर्माण गर्न नपाउने अबस्था सिर्जना भएपछि तीनबर्षदेखिको करोडौँ रुपैयाँ बजेट फ्रिज भइरह्यो ।
अन्ततः यसबर्ष भने सडकलाई गोरेटो बाटो नाम दिएर काम सुरु हुदैछ ।
गोरेटो बाटो निर्माण गर्न आईईई गर्नु नपर्ने भएकाले तत्कालका लागि चार मिटर चौडाई रहेको साँढे तीन किलोमिटर सडक निर्माण हुने भएको छ ।
सो सडक उपभोक्ता समितिले निर्माण गर्ने भएको छ । जसका लागि योजना सम्झौता भइसकेको छ । यसबर्ष प्रदेश सरकारको ५० लाख रुपैयाँ र आठलाख रुपैयाँ बराबरको जनश्रमदान गरी ५८ लाख रुपैयाँको काम हुदैछ ।
सडक निर्माण भएपछि सामागाउँ, साम्दो क्षेत्रको जनजीवनमा ठूलो सकारात्मक परिवर्तन हुनेछ । विशेषगरी दैनिक उपभोग्य बस्तु सर्वसुलभ तथा सुपथ मूल्यमा गाउँलेले उपभोग गर्न पाउनेछन् ।
त्यस्तै अन्य विभिन्न सामग्री पनि सस्तो मूल्यमा गाउँमा आइपुग्नेछ ।
त्यति मात्र नभै सो सडक आउँदा बर्ष पनि क्रमागत बजेटमा नाम्रुङसम्म निर्माण हुनेछ । नाम्रुङसम्मका लागि नेपाली सेनाले निर्माण गरेको सडक अहिले सिर्दिबासको घट्टेखोलासम्म पुगेको छ । केही बर्षमा सेनाले सो सडकलाई नाम्रुङसम्म पु¥याउनेछ । तब उत्तर दक्षिण राजमार्ग तयार हुनेछ ।
लार्के सडक निर्माण सम्पन्न भएपछि लार्केदेखि रक्सौलसम्मको सबैभन्दा छोटो उत्तर, दक्षिण लोकमार्ग बन्नेछ । त्यति मात्र होइन, यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना छ । विशेषगरी आन्तरिक पर्यटकको ओइरो लाग्ने विश्वास लिन सकिन्छ ।
त्यसैले बिना विवाद सो सडक धमाधम निर्माण कार्य अघि बढाऔँ ।




