| सोमवार, कार्तिक २३, २०८३

सडक स्तरोन्नतिको कामले तिब्रता पाओस्

गोरखामा यस आर्थिक बर्ष झण्डै ९५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । त्यसमध्यको भारतीय एक्जिम वैँकले कालोपत्रे गर्न सहयोग गरेको पन्थडिही, कटहरे, हर्मी सडक कालोपत्रे गर्ने काम भने ढिलाइ हुने भएको छ ।

सो वैँकको ८० करोड रुपैयाँ ऋण सहयोगमा २० किलोमिटर पिच हुन लागेको सो सडकको ठेक्का प्रक्रिया अझै सुरु हुन नसकेको सडक बिभाग, सडक सुधार आयोजना निर्देशनालयले जनाएको छ ।
गत भदौमा निर्माण कम्पनीको पूर्वयोग्यता छनौट(सर्टलिस्टिङ)का लागि विज्ञापन गर्दा १२ वटा फर्मको आवेदन परेको थियो तर अहिलेसम्म छनौट गर्न सकिएको छैन ।

नेपालको सडक बिभाग र एक्जिम वैँक दुवै पक्ष बसेर सर्टलिस्टिङ गर्नुपर्ने छ तर दुई पक्ष जुट्न नसक्दा ढिला भएको हो ।
बारकिलो, भालुस्वाँरा, बारपाकको समीफेदबाट पन्थडिही, कटहरे, हर्मी सडकको २० किलोमिटर खण्ड डबललेन कालोपत्रे गर्न डिपिआर भइसकेको छ ।

ठेक्का सम्झौता भएको मितिले ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी एक्जिम वैँकले ऋण सहयोग गरेको हो ।
एक्जिम वैँकले देशभरका १० वटा सडक कालोपत्रे गर्न ५५० मिलियन डलर ऋण सहयोग गरेको छ ।


सर्वसाधारण नागरिक विकासका भोका छन् । जतिसक्दो चाँडो विकासको काम होओस् भनेर नागरिक व्यग्र प्रतिक्षामा छन् । तर विकास प्रदायक संस्थाहरु विभिन्न बहानामा काममा ढिलाइ गरिरहन्छन् । ठेक्का सम्झौता भइसकेपछि पनि फेरि ठेकेदारले अल्मल्याउँछन् । त्यो चरण त आउँनै छ । अहिले ठेक्का प्रक्रिया सुरु नहुँदै पनि अनपेक्षित ढिलाइ भएको छ ।
त्यसैले विकास निर्माणको काममा ढिला नहोओस् ।

प्रतिक्रिया दिनुहोस्