| सोमवार, कार्तिक २३, २०८३

गाउँपालिकाको कार्यालय गाउँपालिकामै चलोस्

चुमनुब्री गाउँपालिका गोरखाको सबैभन्दा दुर्गम गाउँपालिका हो । संरचनागत लाभांशको हिसाबले चुमनुब्रीको अवस्था यसै दयनीय छ । काठमाडौँ सरकार र पोखरा सरकारले चुमनुब्रीलाई साह्रै नै हेपेको छ । हरेक कुरामा हेपेको छ । बिगतदेखि नै हेपेको हो ।


प्रजातन्त्र, सुधारिएको प्रजातन्त्र(लोकतन्त्र) र गणतन्त्रको प्राप्तिपछि दुर्गमले पनि संरचनागत लाभांश बढि पाउँछ कि भन्ने स्वतः अनुमान थियो, तर ठिक उल्टो भयो ।


राणा, पञ्चायत कालमा बरु श्री ५ ले, श्री ३ ले कर्मचारीको खटनपटन कडा रुपमा गरेका थिए । जहाँजहाँ खटाएको हो तत्तत् ठाउँमा कडाइका साथ बसेर काम गर्नुपर्ने अबस्था थियो । तर लोकतन्त्र, प्रजातन्त्रको दुहाइ दिँदै स्वेच्छाचार बढ्दै गयो । कर्मचारीका पनि पार्टी आवद्ध शुभेच्छुक संघ, संगठनहरु निर्माण हुदै गए । कर्तव्य विर्सेर अधिकारको मात्र आवाज बुलन्द हुदै गए । पार्टीलाई सहयोग गरेको हुँदा सरकारले उनीहरुलाई कडाइका साथ कार्यक्षेत्रमा खटाउन नसक्ने अबस्था भयो ।


अहिले सबै बलिया छन्, सरकार शिवाय ।


दुई तिहाइको सरकार भएपछि सरकार बलियो हुन्छ । लक्ष्य लिएको काम गर्न खुट्टा दह्रो बनाउन सक्छ, आवश्यक परे कारबाहीमा लैजान पनि सक्छ भन्ने आशा, अपेक्षा हो । तर यहाँ सबैभन्दा कमजोर सरकार नै बन्यो । व्यक्ति बलियो बन्यो, समुदाय बलियो बन्यो, सरकार कमजोर बन्यो ।
यहाँ कार्यालयमा कर्मचारी नबस्ने ठूलो समस्या छ । गाउँपालिका, सीमा प्रशासन, मालपोत, नापी, कृषि तथा पशु सेवा शाखाहरु, वडा कार्यालयहरु गाउँपालिकाको केन्द्र फिलिममा छन् । तर माउ मानिने पालिकाका कर्मचारी नै पालिकाको कार्यालयमा नबसेपछि अरु कार्यालयका कर्मचारी कहाँ बस्न सक्छन् ? कर्मचारी नहुँदा असाध्यै समस्या पर्ने बारे जति गुनासो गरेपनि सुनुवाइ भएको छैन ।

प्रतिक्रिया दिनुहोस्