| सोमवार, कार्तिक २३, २०८३

काम नगर्ने ठेकेदारलाई ताकेता गरौँ

गोरखामा अहिले धेरै ठाउँमा विकास निर्माणका ठेक्का खुलेका छन् । कामहरु सुचारु भएका छन् । निर्धारित समयमा सम्पन्न हुन्छन्, हुन्नन्, तपसीलका कुरा, तर ठेक्का खुलाउने, सम्झौता गर्ने र काम सुरु गर्ने काम भएको छ ।
यस्तै काममध्यको एक काम हो, अस्पतालमार्ग, आहाले फिनाम सडक । गोरखामा अधिकांश ग्रामीण क्षेत्र जाने प्रवेश मार्गको रुपमा रहेको सो सडकमा नाला बनाउने तथा कालोपत्रे गर्न गत भदौ २४ गते बानियाँ निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो । उनले दुईबर्षभित्र सो सडकको ४.६ किलोमिटर स्तरोन्नति गर्ने काम आठ करोड ४७ लाख रुपैयाँमा सम्पन्न गर्न ठेक्का सम्झौता गरेका हुन् ।
मेलम्ची गतिमा काम भइरहेको सो सडक स्तरोन्नतिको काम अहिलेसम्म जम्मा २० प्रतिशत मात्र कार्यप्रगति भएको छ । निर्माण कम्पनीले सो सडकको काम। महिनौसम्म गति नलिँदा आसपासका स्थानीयबासिन्दा तथा सो बाटोमा हिड्ने विद्यार्थीहरुले असाध्यै सकस खेप्नु परेको छ ।
सानो ठूलो गाडी गुड्ने बित्तिकै घरभन्दा अग्लो धुलो उठ्छ । पैदल हिड्नेलाई लचप्पै धुलोले ढाक्छ । बजार हिडेकाहरु पनि धुलाम्यै हुन्छन्, विद्यार्थीहरुलाई उस्तै सकस । एक दिन लगाएको विद्यालय पोशाक अर्को दिन लगाइनसक्नु हुन्छ ।
जुनसुकै ठाउँमा सडक स्तरोन्नति गर्ने ठेकेदारले स्थानीयबासीलाई समस्या नहोओस् भनेर पानी छेप्ने गर्छन् । यहाँ पनि त्यसै गर्नुपर्ने हो, तर ठेकेदारले सम्झौता अनुसार कार्यस्थलमा पानी छेप्दैन, जसले गर्दा पैदल यात्री तथा मोटरसाइकलमा यात्रा गर्नेहरुले असीम सकस पाइ रहेका छन् ।
निर्माण कम्पनीलाई कामलाई तिब्रता दिनका लागि कार्यालयले बारम्बार ताकेता गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्