व्यवसायिक फुटबल खेलाडी उत्पादन होओस्
विशुद्ध फुटबल खेलको विकास गर्ने उद्देश्यले गोरखामा द ओसन क्लव स्थापना भएको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा स्थापना भएको सो क्लवले आरम्भ कालदेखि नै फुटबल खेलका विभिन्न सिर्जनात्मक, रचनात्मक कार्यक्रम गर्दै आएको सबमा जगजाहेर छ ।
विशेषगरी गोरखामा नै पहिलो पटक कृत्रिम घाँसे मैदान (आर्टिफिसियल टर्फ) निर्माण गरी फुटबलतिर सबैको ध्यानाकर्षण गराएको छ । जसले गर्दा फुटबलको लोकप्रियता बढाउन सोही क्लवले गरेको योगदान गोरखाकै सन्दर्भमा अतुलनीय छ ।
फुटबलकै श्रीवृद्धि गर्न ओसन क्लवले आउँदो फागुन २४ गतेदेखि २७ गतेसम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ आयोजना गर्ने भएको छ । आफैले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न लागेको हो ।
क्लवले फुटबल मेलामा बिभिन्न पाँचवटा इभेण्टहरु गर्नेछ । छैठौँ ओसन कप अण्डर -१३ फुटबल प्रतियोगिता, पाँचौँ भेट्रान्स कप फुटबल खेल, ओसन वर्ष खेलाडी पुरस्कार, प्रतिभावान खेलाडी पुरस्कार, लाइफ टाईम एचिभमेन्ट अवार्ड वितरण सो अवसरमा हुदैछ ।
गोरखा नगरपालिका कार्यालय, वडा नम्बर ९को कार्यालय, बिभिन्न संघसंस्था र ब्यवशायीबाट सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गर्ने क्लवको योजना छ ।
द ओसन क्लवले शिवरात्रीको अवसर पारेर बिगत दुई वर्षयता बिभिन्न गतिविधिसहित फुटबल मेला गर्दै आएको छ ।
यस्ता गतिविधिले जिल्लामा फुटबलप्रतिको क्रेज वृद्धि गर्नेछ । विश्वभर चर्चा कमाएको फुटबलतर्फ युवा विशेषलाई आकर्षण गरी व्यवसायिक खेलाडी बनाउने दिशातर्फ क्लवको कदम अघि बढेको देखिन्छ ।
अहिले फुटबल मनोरञ्जनका लागि मात्र खेलिदैन, व्यवसायिक बन्न पनि खेलिन्छ । क्लवले जिल्लामा व्यवसायिक फुटबल खेलाडीहरु उत्पादन गरोस् । शुभकामना ।




