धार्चेका पर्यटकीय संरचना तोडफोड गर्नेलाई कारबाही गर
धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा निर्माण गरेको भौतिक संरचनाहरु अज्ञात समूहले नष्ट गरेको छ ।
भूकम्पपछि विभिन्न गाउँमा खानेपानी योजना निर्माण गरेको किल सिट फर यूके नामक विदेशी संस्थाले धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा धार्चे डाँडामा निर्माण गरेको स्तम्भ र म्यासेडाँडा, मम्चेडाँडा, लङ्कर भञ्ज्याङ, न्याउलीखर्कमा निर्माण गरिएको होर्डिङबोर्ड नष्ट गरेका हुन् ।
यो सुनियोजित घटना हो वा उछृङ्लता हो, कसले नष्ट गरेको हो यथासीघ्र पहिचान गरी कारबाही गर्नुपर्छ ।
पर्यटन विकास हुनु कुनै संघसंस्थाको मात्र विकास होइन । कुनै एउटा दलको मात्र विकास होइन, कुनै एउटा गाउँको मात्र विकास होइन र कुनै एउटा व्यक्ति नेता हुने पनि होइन । पर्यटन विकासले गाउँ विकास हुने हो, गाउँका सर्वसाधारणको विकास हुने हो, देशको विकास हुने हो । त्यसैले यस्तो उद्दण्डता गर्नेलाई पहिल्याई कारबाहीको दायरामा ल्याउनु पर्छ ।
उद्दण्डता कोही एकजना वा कुनै एउटा समूहका लागि मात्र हुदैन । उद्दण्डता बढ्दै जाँदा त्यसले आज अरुलाई सताउँछ, भोलि आफैलाई सताउँछ । उद्दण्डता बदमासी हो । बदमासीले पराइलाई मात्र होइन, घुमिफिरी आफैलाई पनि सताउँछ । त्यसैले बद्मासीलाई मलजल गर्नु हानीकारक छ ।
विदेशी दातृसंस्था जसले भूकम्पपछि गुम्दामा १७ लाख, यमगाउँमा १० लाख रुपैयाँ, भीरकुनामा सात लाख रुपैयाँ, थुमीको अर्मलामा छ लाख रुपैयाँ लागतमा खानेपानी योजना निर्माण गरेको थियो । सहयोगलाई अझै निरन्तरता दिने जनाएको थियो । यस्ता उछृङ्खल गतिविधिले दातृसंस्था पक्कै पनि रुष्ट हुनेछ । त्यसैले यस्ता गतिविधिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।




