निर्वाचन आचार संहिता हात्तीको देखाउने दाँत मात्र
नेपालीमा ‘जसले हान्यो, उसले जान्यो’ भन्ने एउटा जबर्जस्त उखान छ ।
हरेक निर्वाचनमा निर्वाचन आयोगद्वारा जारी आचार संहिता पालना र उल्लंघनका सन्दर्भमा यो उखान चरितार्थ हुने गर्छ । निर्वाचन आयोगले जारी गरेको मात्र होइन, निर्वाचनका बेला राजनीतिक दलहरुले जारी गरेका आचार संहितासमेत उनकै उम्मेद्वारले पूरा गरेका हुदैनन् ।
अहिले निर्वाचन आयोगले आचार संहिता परिमार्जन गर्ने तयारीमा छ । समय सापेक्ष, अझ व्यवहारिक र वैज्ञानिक आचार संहिता बनाउनका लागि आयोगले हरेक जिल्लामा निर्वाचन आचार संहिताको मस्यौदा पठाएको छ । त्यसमा जिल्ला जिल्लाबाट थपघट गरेर पठाएपछि मनासिब लागेका वुँदाहरु परिमार्जन हुनेछन् ।
गोरखामा पनि सो मस्यौदा बारे छलफल भएका छन् । राजनीतिक दलका नेता, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, कर्मचारीहरुको उपस्थितिमा मस्यौदा बारे छलफल भएको हो ।
सो छलफल कार्यक्रममा बोल्दै अधिकांशले आचार संहिता हात्तीको देखाउने दाँतको रुपमा मात्र रहेको दाबी गरेका थिए । कार्यान्वयन नै नहुने भए आचार संहिताका लागि समय, दिमाग र अर्थ खर्च गर्नुको अर्थ नरहने उनीहरुको तर्क थियो । यदि कार्यान्वयन गर्न कठिन नै आचार संहिता भए कति गर्दा, के गर्दा कार्यान्वयन गर्न सकिन्छ, त्यही आधारमा आचार संहिता बनाउनु पर्ने उनीहरुको सुझाव थियो ।
विशेषगरी आचार संहिता पैसाको परिचालनका बारेमा उल्लंघन हुने गर्छ । त्यस्तै प्रचार प्रसारका सन्दर्भमा पनि आचार संहिता उल्लंघन हुने गर्छ । जति आचार संहितामा कडाइ गरे पनि चुनावका बेला खर्च गर्ने दर धेरै नै बढिरहेको छ । खर्च गर्न नसक्नेहरुले चुनाव लड्ने कल्पनै गर्न नसक्ने भएको छ ।
त्यसैले आचार संहिता बनाउँदा बढि व्यवहारिक र वैज्ञानिक बनाउनु पर्छ ।




