| सोमवार, कार्तिक २३, २०८३

व्यवस्थापकीय लापार्बाहीको हद

गण्डकी गाउँपालिका वडा नम्बर २ ताङ्लिचोकमा पशु तथा कृषि सेवासम्बन्धी कामका लागि प्रिफ्याबका दुईवटा भबन छन् । दुईवटा सौचालय भवन, खानेपानीका दुईवटै ट्याङ्की छन् । भबनभित्र फर्निचर सुसज्जित छ । बत्ति, पानी, सडक सबै सुविधा छन् । तर भबन एक पटक पनि प्रयोग नभई थोत्रिएको छ । कार्यालयको काम भने त्यहाँका कर्मचारीको झोलाबाट सञ्चालित छ ।
भुकम्पपछि दातृ संस्थाले सो भवन प्रिफ्याबबाट निर्माण गरेको थियो ।


पशु तथा कृषि कार्यालय नखुल्ने, आफूहरु कृषिको कामका लागि वडा कार्यालय जानु पर्ने तथा पशुसम्बन्धी सेवा लिन कर्मचारी घुम्दै आएको बेला पर्खिनुपर्ने किसानहरुको गुनासो छ । कर्मचारी खोज्दै हिँड्नुपर्ने सेवाग्राहीहरुको गुनासो छ ।


कृषिको नामको १३ रोपनी र अन्य १२ रोपनीसहित २५ रोपनी जग्गामा सेवाकेन्द्र थियो । सेबोटाज गर्ने नाममा द्वन्द्वकालमा ती कार्यालयहरु ध्वस्त भए । ध्वस्त भए, पुनस्थापित नभएपछि ती कार्यालयको काम डामाडोल भएको हो ।


ताङ्लिचोक र आसपासका क्षेत्र सुन्तला खेती, पशुपालनका लागि जिल्लाकै उत्तम मानिन्छ । त्यहाँ सेवा केन्द्र हुँदा किसानलाई ठुलो राहत मिल्थ्यो । तर भवन प्रयोग बिहिन हुने, कर्मचारीले निश्चित ठाउँबाट र निश्चित समयमा सेवा नदिँदा किसानहरु मर्कामा छन् ।


यो त एउटा नमूना मात्र हो । व्यवस्थापकीय कमजोरीका कारण यो जस्तै धेरै ठाउँमा डामाडोल छ । कतै जनशक्ति छ, पूर्वाधार छैन, कतै पूर्वाधार छ, जनशक्ति छैन, कतै जनशक्ति, पूर्वाधार केही पनि छैन, सेवाग्राही मात्र छन् ।


यी र यस्ता बिषयलाई सुक्ष्मातिसुक्ष्म ढंगले अघि बढाउन सके विकास टाढा पनि छैन ।

प्रतिक्रिया दिनुहोस्