गोरखकाली रबर उद्योग चलाउने बिकल्प खोज
देश अहिले कोरोनाले थला परेको छ । यही बेला संसद बिघटनको घोषणाले सडक तताएको छ ।
यी तनावले सरकारको विकास र संवृद्धिको नारा ओझेलमा परेको छ ।
त्यसो त सरकारले विकास र संवृद्धिको नारा लगाएका बेला पनि कार्यदिशा विकास र संवृद्धितर्फ थिएन । भाषणमा भने वडा अध्यक्षदेखि मन्त्री, प्रधामन्त्री, राष्टूपतिसम्मले विकास र संवृद्धिको छुटाउँदैनथे ।
भन्ने बेला विकास र संवृद्धि, गर्ने बेला आलाटाली । त्यसैको नतिजास्वरुप देश भाँडभैलोमा फँस्यो ।
अहिले सरकारको स्वामित्वमा रहेका धेरै उद्योग कलकारखाना, तथा अन्य कम्पनीहरु धरासायी छ । आंशिकमात्र चलेका छन्, त्यही पनि घाटामा ।
स्वदेशलाई आर्थिक रुपमा उकास्ने स्वदेशी उद्योग कलकारखाना धमाधम बन्द भइरहेका छन् । जसका कारण आर्थिक रुपमा पनि मुलुक धरासायी भएको छ, युवाहरु पनि रोजगारीका लागि विदेशिएका छन् ।
टायर उत्पादन गर्ने नेपालको एक मात्र कम्पनी हो, गोरखकाली रबर उद्योग । यो उद्योग अहिले बिगत सात बर्षदेखि निरन्तर बन्द भएको छ । अहिले सरकारले त्यहाँ कार्यरत तीनसय जना कर्मचारी, मजदुरलाई उपदान भुक्तानीको तयारी गरेको छ । उनीहरुलाई अन्तिम किस्तास्वरुप रकम दिएपछि उद्योग औपचारिक रुपमै बन्द हुन्छ ।
यहाँका भवन, मेसिन लगायतका तमाम सम्पदा क्षयीकरण हुदै गइरहेको छ ।
नयाँ नयाँ उद्योग कलकारखान खुल्नु पर्ने बेला, भएका पनि धमाधम बन्द हुनु धेरै दुखद छ । त्यसैले यस उद्योगलाई निजीकरण गरेर हुन्छ, वा विदेशी उद्योगीहरुलाई चलाउन दिएर हुन्छ, सञ्चालनको प्रयास गर्नुपर्छ । त्यसका लागि स्थानीय वा प्रदेश सरकारले मात्र होइन, तीनै तहको सरकारले चासो दिनुपर्छ ।




