| सोमवार, कार्तिक २३, २०८३

ठूलो माछो पनि पक्राउ गर

कतिपय राम्रै काम गरेपनि आलोचना हुने गर्छ । कुनै काम त्यस्तो हुन्छ, जुन गर्नेले राम्रै गरेँ भनेपनि हाँसोको पात्र बन्ने गर्छन् ।

त्यसको उदाहरण बन्यो, मंगलबार विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण केन्द्रका प्रमुख कृष्ण आले पक्राउको घटना । गाडीवालासँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले उनलाई पक्राउ गरेको थियो । गाडीले सडक छेउको विद्युत पोलमा ठक्कर दिएपछि सो मर्मत खर्चबापत तिर्नुपर्ने भन्दा पाँच हजार रुपैयाँ अतिरिक्त रकम प्रमुख आलेले मागेका थिए ।

घुस खाने र घुस दिने दुवै दोषी हुन् । यी दुवैलाई कारबाही हुनुपर्छ भन्ने आदर्श मान्यता छ । तर नेपालको वर्तमान सन्दर्भमा यो प्रयोगमा छैन ।

घुस लिने पक्राउ परे । काम सकारात्मक छ । तर सर्वसाधारणले ‘सानो माछो समातिए, ठूला माछा समातिएनन्’ भनेर आलोचना गरिरहेका छन् ।

यति परिमाणभन्दा कम घुस लिनेलाई पक्राउ नगर भन्ने कतै उल्लेख हुदैन । पाँच हजारको ठाउँमा पाँचसय रुपैयाँ मात्र घुस मागेको रहेछ भने पनि पक्राउ पर्नुपर्छ । सानो कसुर पनि ठूलो कसुर पनि कसुर नै हो । तसर्थ सानो ठूलो भनेर पृथकीकरण गर्नु उपयुक्त हुदैन । साना बदमासीलाई पनि ठूला बदमासीलाई पनि पक्राउ गर्नुपर्छ । कारबाही गर्नुपर्छ ।

तर वर्तमानमा करोड खाने, अर्ब खाने कतै समातिएको उदाहरण छैन । हजार खाने र अधिकत्तम लाख खानेसम्म यदाकदा समातिए भन्ने खबर आउँछ ।

साना बदमासी गर्नेले नीति नियम नमिलाई गर्छन् । करोड र अर्ब खानेले नीतिगत भ्रष्टाचार गरेर खान्छन् । त्यसैले यिनलाई झन खोजीखोजी कारबाही गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्