| सोमवार, कार्तिक २३, २०८३

अधिकारकर्मीहरु रिमोटबाट मात्र चल्ने कि स्वविवेक पनि प्रयोग गर्ने ?

देशभर बलात्कार तथा महिला हिंसाका घटना बढिरहेको विरोधमा गोरखाका युवतीहरुले विरोध कार्यक्रम आयोजना गरे । देशभर एकै समयमा सुरु गर्ने कार्यक्रम अनुसार शनिबार गोरखामा तीनबजेदेखि युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका थिए ।


घर भित्रै पनि होशियार, हामी चुप कहिलेसम्म, अझै कति सहने लगायत नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुले बलात्कारीविरुद्धको कानुनलाई अझै कडा बनाउनुपर्ने, सजायँको दायरा बढाउनु पर्ने, पिडितलाई जाहेरी दिन पाउने हद म्याद थप गर्नुपर्ने मागहरु पनि राखेका छन् ।

अपराध न्यूनिकरण गर्न गरिएको यो रचनात्मक, सिर्जनात्मक पहल कदमी सह्रानीय छ । यसरी नै महिलाहरु सजग, सचेत, जागरुक हुनुपर्छ । यति हुँदाहुँदै पनि सचेत महिला जगतले केही कुरा थप गर्नुपर्ने देखिन्छ ।

जिल्ला बाहिर भएका घटनाकोचाहिँ यहाँ आवाज उठ्छ, नारा, जुलुस लाग्छ तर यदि त्यस्तै प्रकृतिको घटना गोरखामा भयो भने चाइँचुइँ सुनिदैन । हिजोआज पनि जिल्ला प्रहरी कार्यालय गोरखामा बलात्कारका एक, दुई मुद्धा दैनिकजसो दर्ता हुने गरेका छन् । कतिपय त जाहेरी नै नपरी घरगाउँमै मिल्न बाध्य पारिएका पनि छन् । कतिपय त समाज, समुदायमा पनि नपुगेका घटना छन् ।

तिनका बारेमाचाहिँ आवाज उठाउनु पर्दैन ? कि माथिबाट आदेश आएपछि मात्र यहाँ बिरोधका कार्यक्रम गर्ने हो ? त्यस्तो त पक्कै होइन होला किनभने अधिकारकर्मी भनेका सचेत, सजग, जागरुक बर्ग हो । उनीहरु स्वाभिमानी हुन्छन् । क्षमतावान हुन्छन् ।

बिगतदेखि नै देखिरहेको, भोगिरहेको अबस्था यस्तै छ कि, जिल्ला बाहिरका फौजदारी अपराधका बारेमा गोरखामा बिभिन्न विरोधका कार्यक्रम हुन्छन्, तर यहाँ हुने गरेका जघन्य मानवता बिरोधी घटनामा कहिँकतै आवाज उठ्दैन ।यस्तो अबस्थाको पनि अन्त्य हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्