बाह्रमासे जुवा नियन्त्रण गर्ने कार्ययोजना बनेन
चाडबाडले ढपक्कै छोप्न लागिसक्यो । कोरोनाका बीच पनि माहोला चाडबाडमय भइरहेको छ ।
गाउँ, सहरमा मान्छेको चहलपहल निक्कै देखिन्छ । स्थानीय सरकारले बर्खामा बिग्रिएका ग्रामीण सडक मर्मतसम्भार नगरेपछि गाडी गुड्ने क्रम बढिरहेको छ । कोरोना महामारीका कारण सहर नछोड्न, सहर नपस्न सरकारले बरोबार सचेत गराए पनि सहर आउने,जाने यात्रुले ट्राफिक जाम हुने क्रम बढिरहेको छ ।
सबै गतिविधिको अबस्थालाई मध्यनजर गरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । सहायता केन्द्र सञ्चालन गर्ने, विशेष टोली खटिएर चोरी, डकैती, लुटपाट र तस्करी नियन्त्रणका लागि ‘टास्कफोर्स’ परिचालन गरेको प्रहरीले जनाएको छ ।
तर नजिकिदै गरेको चाडबाडमा बढ्दै गरेको जुवातासलाई नियन्त्रण गर्ने कार्यक्रम सम्बोधन भएको छैन । सदरमुकाम केही त्यस्ता घर छन्, जहाँ बाह्रै महिना जुवातास चल्छ । घरवालाले भाडा असुलेर पेशेवार जुवाडेहरुलाई निर्वाध जुवातास खेलाइरहन्छन् । कसैले जुवाडेहरुलाई गाडीमा राखेर ‘मोबाइल जुवागृह’मा तास खेलाउँछन् ।
प्रहरीका इन्टेलिजेन्सलाई त्यस्ता घर, घरवाला, बारमासे जुवाडे, जुवाडे बोकेर खैरेनी, डुम्रे, तुरतुरे, दमौली लैजाने गाडी, गाडीवालाका बारेमा पक्कै पनि जानकारी छ । तथापि त्यस्ता गतिविधि नियन्त्रण गरिएको छैन ।
जसले आम जनमानसमा विभिन्न शंका, उपशंका जन्माउन सक्छ । ती शंका, उपशंका निवारण गर्न पनि प्रहरीले बाह्रमासे जुवाडे र जुवा खेलाउनेमाथि कारबाही गर्नुपर्छ ।
कुनै प्रहरी प्रमुखले जिल्ला प्रहरीको नेतृत्व गर्दा जुवातास खेल्नेहरुलाई पक्राउ गर्ने दर बढ्थ्यो । कुनै नेतृत्व फेरिँदा त्यस्तो गतिविधिले प्राथमिकता नपाए जस्तो देखिन्छ ।
घरबार बिगार्ने, समाज, समुदाय बिगार्ने बाह्रमासे जुवातास र जुवाडेलाई नियन्त्रण गर्न विशेष कार्यदल बनेर कारबाही अघि बढाएको बेस हुनेछ ।




