चाडपर्वको सिजन आयो, बजार व्यवस्थित गर
बहुसंख्यक नेपालीहरुको महानपर्व दशैँ, तिहार जस्ता चाडपर्व नजिकिदै आएका छन् । कोरोनासँग डटेर ग्राहक तथा सेवाग्राहीहरु किनमेल तथा कार्यालयीय काममा निस्किएका छन् । जसले गर्दा बजारमा अहिले ठूलै भीड लाग्न थालेको छ ।
जतिबेला पसलमा ग्राहकको भीड लाग्छ, अनि कतिपय अव्यवस्थित व्यापारीहरु मनोमानी भाउमा सामान बेच्न थाल्छन् । यतिबेला विशेष गरी फेन्सी तथा कपडा व्यवसायीहरुबाट मनोमानी हुन सक्ने सम्भावना बढि हुन्छ । दैनिक उपभोग्य सामानका व्यापारीहरुबाट पनि ग्राहक ठगिन सक्छन् ।
यही अबस्थालाई मध्यनजर गरी मसला तथा किराना व्यवसायी संघ गोरखाले जिरा मसलाको दररेट कायम गरेको छ । नजिकिँदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुटका साथ कायम गरिएको नयाँ दररेट पसलमा ग्राहकले देख्ने ठाउँमा झुण्ड्याउने निणर्य गरेको छ । फेन्सी तथा कपडा व्यवसायीले पनि यसरी नै ग्राहक नठगिने ग्यारेण्टी हुने खालका नीति अबलम्बन गर्नुपर्छ । फेन्सी तथा कपडाको मूल्य यति नै पर्छ भन्ने कुनै आधार हुदैन, जस्तो चामल, दाल, चिनी, चनाको हुन्छ । त्यसैले कपडा तथा फेन्सी पसलमा ग्राहक ठगिन सक्ने जोखिम धेरै छ ।
बजार अनुगमन समितिले यसअघि अनुगमन त गरेको छ । समितिले म्याद नाघे ननाघेको हेर्न सक्छ । मूल्य सूची टाँसे नटाँसेको हेर्न सक्छ । तर फेन्सी तथा कपडाको मूल्यमा भएको अनियमितता कसरी मापन गरेर अनुगमन गर्छ ? यस्ता जटिल बिषयलाई कसरी अनुगमन गर्छ ?
यी बिषय गम्भीर छन् । औपचारिकताका लागि एकफेर अनुगमन गरेर झारा टार्ने काम मात्र नभै बजारको नियमित अनुगमन होओस् ।




