गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा अनुकरणीय
संघीय संरचनामा मुलकु गएपछि अहिले नेपालमा तीन तहका सरकार विद्यमान छन् । ठूला(राष्ट्रिय गौरवका योजना) केन्द्र सरकारले गर्नुपर्ने व्यवस्था छ । त्यो भन्दा साना बजेटका कार्यक्रम प्रदेश सरकारले र अझ साना कार्यक्रम स्थानीय सरकारले गर्ने गर्छ ।
बिभिन्न क्षेत्रधिकार पाएपछि कतिपय गाउँ।नगरपालिकाले धेरै रचनात्मक कामहरु गरेर सेवाग्राहीलाई खुशी पारेका छन् । गोरखाकै हकमा भन्नुपर्दा कतिपय गाउँपालिका, नगरपालिकाले धेरै रचनात्मक काम गरेका छन् । पछिल्लो उदाहरण हो, शहीद लखन गाउँपालिकाको मातृशिशुसम्बन्धी कार्यक्रम ।
गर्भवती महिलालाई घरघरमा पुगेर भेट्ने, उनको, बच्चाको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने, भिडियो एक्सरे गरी बच्चाको अबस्था, गतिविधिको बारेमा जाँच्ने काम सुरु गरेको छ ।
सबै गर्भवती महिलाहरुले आफ्नो र बच्चाको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरकारी व्यवस्था छ । सोही व्यवस्थाअनुसार गर्भवती महिलाहरु नीजि खर्चमा सहरको अस्पतालमा गई गर्भ परीक्षण गर्ने गर्छन् । तर अधिकांश ग्रामीणभेगका महिलाहरुसँग सहर जाने खर्च हुदैन । गर्भ परीक्षण गर्नैपर्छ भन्ने बाध्यात्मक नियम खारेज गर्छन् अर्थात गर्भ परीक्षण गर्दैनन् ।
शहीद लखन गाउँपालिकाले यस्ता महिलाहरुलाई समेत राहत पुग्नेगरी गर्भवती महिलाहरुको पहिचान गरी उनीहरुको घरघरमा पुगेर गर्भ परीक्षण गर्न सुरु गरेको छ ।
यसो गर्दा धेरै फाइदा छन् । पहिलो त स्वास्थ्य परीक्षण नै नगर्नेले निशुल्क सेवा पाएपछि परीक्षण गर्छन् । दोस्रो फाइदा, गर्भ परीक्षण नगर्नेले गर्न थालेका छन् । भदौ एक महिनामा मात्र सो गाउँपालिकाले एकसय ४२ जना गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्यो । सोही क्रममा उनीहरुलाई आइरन चक्की दिने, अन्य जिज्ञासा मेटाउने काम गरेको छ । जुन कार्य असाध्यै अनुकरणीय छ ।




