| सोमवार, कार्तिक २३, २०८३

कोरोनामुक्त पालिकाले आन्तरिक गतिविधि सञ्चालन गरेको बेस

गोरखाका ११ वटा पालिकामध्य अहिलेसम्म धार्चे र चुमनुब्री गाउँपालिका कोरोनामुक्त पालिका बन्न सफल छन् । भाग्यवश नै भन्नुपर्छ, बाहिरबाट पालिका प्रवेश गरेकाहरु पनि कोरोनामुक्त रहेका छन् । बिभिन्न कार्यक्रमको क्रममा गाउँपालिका प्रवेश गरेकाहरु पनि कोरोनामुक्त नै परेका छन्, जसका कारण पालिकाभित्र अहिलेसम्म एकजना पनि संक्रमित देखिएका छैनन् ।


असारमसान्तमा चुमनुब्री गाउँपालिकाका उपभोक्ता समितिका पदाधिकारीहरु योजना फरफारकका लागि सदरमुकाम आएर एक, दुई साता बसेर गएका थिए । उनीहरुबाट पनि संक्रमण प्रवेश गरेन । धार्चे तथा चुमनुब्रीमा बिदा मनाएर फर्केका कर्मचारी तथा सदरमुकाममा आएर फर्केकाहरुबाट पनि कोरोना फैलिएको छैन । जुन बिषय सुखद र खुशीको कुरा हो ।

ती दुई पालिकामा आन्तरिक गतिविधिहरु सञ्चालन गर्नु धेरै राम्रो हुन्छ । किनभने, बाहिरकाहरु प्रवेश गरे भने कोरोनाले प्रवेश पाउँछ कि भन्ने हो तर भित्रैकाहरुले कार्यक्रमहरु गर्दा संक्रमण फैलन कुनै सम्भावना हुदैन ।


कोरोना फैलने सम्भावना नहुँदा नहुँदै अरु ठाउँको देखासिकी गरी काम नगर्नु चाहिँ अल्छी गर्नु हो । यस्तो हुनुचाहिँ भाग्यले दिए पनि वुद्धिले नदिएको मानिन्छ ।


यदि शिक्षक र विद्यार्थी आफ्नो पालिका बाहिरबाट आउने होइनन् भने आन्तरिक शिक्षक र आन्तरिक विद्यार्थी बीच सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गरे पनि फरक पर्दैन । सुरक्षा सतर्कता अपनाएर जनचेतनामुलक, शसक्तिकरणका कार्यक्रमहरु, विकासका कार्यक्रमहरु गर्दा खतरापूणर् हुदैन ।


कोरोना फैलिएका पालिकाको देखासिकी गरी कार्यक्रम नगरी बस्दा ती पालिकाहरुलाई नोक्सानी हुन्छ । किनभने जव कोरोनाको समस्या हल हुन्छ, तर तलका पालिकाको काम ती दुई दुर्गमका पालिकाको तुलनामा गर्ने गति तिब्र हुन्छ । तसर्थ सुरक्षा सतर्कता अपनाएर कार्यक्रम गर्नु मनासिब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्