फेरि पनि ठाउँठाउँमा भाँजो किन ?
परापूर्व कालमा हैजा फैलिएको गाउँमा भाँजो हाल्ने चलन थियो भन्ने कहावत छ । कुष्टरोग फैलिएको ठाउँमा पनि भाँजो हालिन्थ्यो भन्ने बूढापुरानाबाट सुनिन्छ । कुष्टरोग लागेको मान्छेलाई रुखको फेदमा राखेर स्याउलाको भाँजो हाल्ने चलन थियो । कोही पनि नजिक नजाने हुँदा सो रोगी मर्ने, बाँचे पनि अंगभंग हुने अबस्था थियो ।
अहिले समयको विकाससँगै मान्छेहरु धेरै सभ्य भइसके । प्रविधिको विकाससंगै धेरै कुराले आधुनिकता पाइसके । तर सोच र चेतना भने जस्ताको तस्तै देखियो । स्वास्थ्य, शिक्षा, सूचना, सञ्चार, यातायात आदिको विकास उचाइमा पुगको यो समयमा पनि त्यतिबेला जस्तै रोग फैलिएको ठाउँलाई भाँजो हाल्ने, तगारो हाल्ने प्रवृत्ति जस्ताको तस्तै छ ।
गोरखाको बीच बजारको धारापानी टोलमा धेरै संक्रमित देखिए । सोही दिनमा भाटा तेस्र्याएर छेकथुन गरियो । रानीपोखरी क्षेत्रमा पनि त्यसरी नै भाटा तेस्र्याइएको छ । आरुघाटका बासिन्दाले पुलमा भाँजो हालेका छन् ।
यसले यो दुनियाको सभ्यतालाई लज्जित बनाएको छ । शिक्षा र चेतनालाई काउकुती लगाएको छ ।
यो कोरोनाको बारेमा जनप्रतिनिधि, सामाजिक अगुवा, सामाजिक सञ्जाल, सञ्चार माध्यमहरुले यति धेरै सचेत गराएका छन् कि, पठित, अपठित जो कोहीलाई कोरोनाबाट जोगिने तरिका थाहा छ । यति हुँदाहुँदै पनि कोही कसैलाई कुनै ठाउँमा जान डर लागे स्वतस्फूर्त जाँदैन । डर नलागे जोगिएर जान्छ । संक्रमितलाई छुन त कोही जाँदैन । फेरि पनि भाँजो किन ?
अघिल्लो चरणको लकडाउनमा यसरी नै लगाइएको भाँजो हटाउन सरकारले निर्देशन दिएको थियो । त्यसलाई यसपटक पनि कार्यान्वयन गर्नु जरुरी छ ।




