प्रचीन सम्पदाहरुको संरक्षण गरौं
धेरै प्राचीन सम्पदाहरु अहिले नासिदै गइराखेका छन् । पुराना कला संस्कार, संस्कृतिहरु नासिदै गएको बारे सबै जानकार छन् । जस्तो कि, घाँटु मारुनी,हराउँदै छ । बालन, हनुमान नाच, सरस्वती नाच अहिले कहाँ देख्न पाइन्छ ? मायालु, नानिलो भाखा कहाँ देख्न पाइन्छ ? सूचीवद्ध गर्ने हो भने यस्ता दर्जनौँको नाम आउँछन्, जुन संस्कार, संस्कृति लोपप्राय भएका छन् ।
भाँडाकुँडाको अबस्था पनि त्यही हो । फाम अहिलेको पुस्ताले देखेकै छैनन् । सिङमाङ, बिरिम, घुम, स्याखु भनेको के हो ? गुगलमा सर्च गर्नुपर्ने अबस्था आइसकेको छ ।
के तराई, के पहाड, के हिमाल, अहिले आधुनिक प्रविधि नै पुगेको छ । जसले गर्दा परापूर्वदेखि प्रचलनमा रहेका मौलिक सामग्रीहरु लोप हुदै छन् । केही लोप भइसकेका छन् ।
नयाँ प्रविधिले समयको बचन गर्छ, खर्चको बचत गर्छ । पुराना प्रविधि ठूला, गह्रुङ्गा, झञ्झटिला, महंगा, बोझिला हुनसक्लान्, तर गुण स्तरीय, वातावरणमैत्री, स्वस्थ, लाभदायक हुन्छन् । तर आधुनिक सामग्री स्वास्थ्यका दृष्टिले हानीकारक, गुणस्तरका दृष्टिले कमसल हुन्छन् ।
जे होस्, प्राचीन उपकरण, भाँडाकुँडा, संस्कार, संस्कृतिहरु हाम्रा पहिचान ह्ुन् । यिनैले हामीलाई चिनाए, हामीले यिनको जगेर्ना गर्नुपर्छ । संरक्षण गर्नुपर्छ । यिनलाई भावी पुस्ताले समेत अनुभूत गर्न पाउने गरी जोगाएर राख्नुपर्छ ।
संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्नुको अर्थ आधुनिक युगको उपयोग गर्नु हुदैन भन्न खोजिएको होइन । पुरानालाई माया, जतन, संरक्षण र मर्यादा गर्दै नयाँ सहज प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ । यसका लागि स्थानीय सरकारहरुले पनि पहल कदमी लिनुपर्छ । हाम्रो पहिचान मेटिन दिनुहुदैन ।




