लघुवित्तको सकस कहिलेसम्म ?
लघुवित्त वित्तीय संस्थाहरु वैंकिङ कारोबार गर्ने भन्दै घरदैलो गर्ने गरेको सबैले देखेकै हो । गाउँका पढ, अनपढ महिलाहरु भेला गर्दै पैसा उठाउँदै, लगानी गर्दै ‘टार्गेट’ पूरा गर्ने क्रममा गाउँमा धेरैको बास खेदिएको छ । यस बारेमा जानकार नभएका बिरलै होलान् ।
ऋणीको उठिबास हामीले गराएको होइन भन्नका लागि लघुवित्त वैँकको तर्क पनि ठिकै हुनसक्छ । लघुवित्तले ऋण जबर्जस्ती कोचाउन गएको त छैन । ग्राहक आफैले राजीखुशीले कर्जा लिने हुन् । उनीहरुले तिर्दैनन् त वैँकले छुट दिने कुरा पनि भएन । न त सरकारले उनीहरुले ऋण नतिरेबापत लघुवित्तलाई क्षतिपूर्ति दिने व्यवस्था छ ।
त्यसो भए कमजोरी कसको र कसरी ? विश्लेषण गर्नु जरुरी छ ।
अभ्यासबाट के देखियो भने जो सुकैले सजिलै ऋण पाइयो भनेर लिए । अझ ‘टार्गेट’ छुने लोभले जो पायो त्यहीलाई ऋण लिन उत्प्रेरित गरियो । पाँच जनाले ताली बजाएकै भरमा कर्जा लगानी गरियो । उसले ऋण कसरी तिर्छ भनेर अध्ययन गरिएन । तोकिएको काम उसले गरेको छ कि छैन, अनुगमन गर्ने प्रयास पनि गरिएन । सजिलै पाएको ऋण व्यक्तिले सित्तै पाएको सरह सजिलै खर्च गर्यो । जब तिर्न सकेन अनि ताली बजाउनेहरुलाई दण्ड सजायँ स्वरुप सोधभर्ना गरियो । यसले गर्दा इमान्दार सदस्य पनि दण्डित भयो ।
यहीँनेर कमजोरी भएको हो । यसलाई व्यवस्थित गर्न सकियो भने व्यक्ति पनि नडुब्ने, समूह पनि नडुब्ने हुनसक्छ ।




