| सोमवार, कार्तिक २३, २०८३

सर्वसाधारणका लागि जोखिममुक्त बाटो बनाऊ

बिगत बर्षभन्दा यसबर्ष धेरै ठूलो बर्षात भयो । बर्षातले धेरै ठाउँमा जनधनको क्षति गर्‍यो ।

पहिरोमा परी दर्जनौ घर बगे । पहिरोले खेतबारी धेरैको नष्ट भयो । बाढीले कैयौँ हजार रोपनी खेत बगे । कोरोनाबाट आक्रान्त किसानहरु बाढी र पहिरोका कारण झन धेरै पिडित बनेका छन् ।

बाढी र पहिरोका कारण विशेष गरी उत्तरी भेगका बासिन्दालाई हिड्ने बाटोको समेत समस्या छ । बूढीगण्डकी किनारको बाटो पहिरिँदा धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दालाई वल्लोगाउँ, पल्लो गाउँ आवतजावत गर्न मात्र होइन, सदरमुकाम झर्न समेत समस्या छ ।
सोतीबाट माथि लागेपछि अनगिन्ति ठाउँमा पहिरो छन् । सेनाले हालै निर्माण गर्दै गरेको सडकमा ढुंगा खसिरहन्छ । पहिरो झरिरहन्छ । बिस्फोट गर्दा अड्केर बसेको ढुंगा कुनबेला कुन खण्डमा खस्छ र यात्रु पुरिन्छन्, पत्तो हुदैन ।

त्यस्तै अन्यत्र पनि ठूलाठूला पहिरो खसेका छन् । तातोपानी भन्दा पारि धेरै ठूलो पहिरो छ । पहिरोमा हिड्दा यसअघि एकजनाको मृत्यू समेत भयो । त्यस्तै सिर्दिबास सल्लेरी, घट्टेखोलाखण्ड, फिलिम, चिसापानी एक्लेभट्टीखण्ड, सर्दीभीर, बिहीफेदी, गप नाम्रुङखण्डहरु जोखिम छन् ।

कम्तीमा दुख गरेर खानेलाई सजिलोसंग आवतजावत गर्न मिल्ने जोखिममुक्त बाटो बनाउनु सरकारको दायित्व हो । अहिले त एउटा होइन, तीनवटा सरकार छन् । प्रदेश र संघ सरकारलाई पत्तो नभए पनि स्थानीय सरकारलाई त थाहा छ, कहाँको बाटो अप्ठ्यारो छ ।
स्थानीय सरकारले आफू सक्छ भने आफैले, आफूले सक्दैन भने प्रदेश सरकारलाई गुहारेर वा संघ सरकारलाई गुहारेर बाटो खतरामुक्त बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्