उत्खनन र चोरी रोक्न सर्वपक्षिय सहकार्य आबश्यक
गोरखका खोला नदीहरुमा अवैध उत्खनन भएको गुनासो दिनदिनै आउन थालेको छ । रातको समयमा नदीजन्य पदार्थ बालुवा, ढुङ्गा चोरी गर्ने गिरोह नै सक्रिय देखिन्छन् । अवैध रुपमा चोरी गर्दै बिक्री गर्न पाएपछि दरौँदी नदी, बुढीगण्डकी आसपास दिनदिनै अवैध उत्खनन गर्नेहरु बढेका छन् ।
खोला आसपास रहेका प्रहरी चौकीले नियमित निग्रानी गर्नुपर्ने देखिन्छ । रातको समयमा थाहै नदिई हुने गस्तीलाई प्राथमिकता दिने, चोरी निकासी भएको ठाउँमा चेकजाँच गर्ने गरेको खण्डमा उत्खननमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सक्छ । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो ठाउँमा भएका गतिविधि बारे निग्रानी राखेर प्रहरीलाई सघाउनुपर्छ । उनीहरुले थाहा पाएका चोरी निकासी संम्बन्धि सुचनाले कारवाही गर्न प्रहरीलाई सहयोग मिल्छ ।
नदीजन्य पदार्थ जथाभावी उत्खनन गर्दा खोलाको सतह गहिरो हुँदै गएको छ भने आसपासका खेतमा सिंचाईको समस्या बढ्दो छ । बाढीले खेत बगर बनाउनमा जथाभावि गरिने उत्खनन पनि एउटा कारण हो । बतावरणिय प्रभाव मूल्याङ्कन बिना गरिएको उत्खनन स्थानीयलाई नै घातक बन्छ । चोरी निकासी गर्नेहरुले जहाँ सजिलो छ, मानिसले हत्तपत्त थाहा पाउँदैनन् त्यस्ता ठाउँमा जोखिमको कुनै प्रभाव नगरी उत्खनन् गरिरहेका हुन्छन् । यस्ता गतिविधीलाई निरुत्साहित गर्न स्थानीय चनाखो हुनुपर्छ ।
स्थानीय सरकार, प्रशासन प्रहरीको सहकार्यले चोरी निकासी गर्नेहरुलाई कानुनी कारवाही गर्न सकेको खण्डमा अवैध उत्खनन छिनमै रोक्न सकिन्छ । चोरी भईरहने, स्थानीय सरकार र प्रशासनले नियन्त्रण गर्न चासो नदिने हो भने सर्वसाधारण नागरिकलाई मिलेमतोमा चोरी निकासई भईरहेको छ कि भन्ने शंका बढ्दै जान सक्छ ।