| सोमवार, कार्तिक २३, २०८३

बारपाक सुलीकोट विवाद, बार्ता र संवादबाट सहमति निकाल

बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ४ को कार्यालयमा तालाबन्दी भएको छ । स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने रकम हुडीखोलामा अस्पताल बनाउन खर्च गर्न लागेको भन्दै सौरपानीका बासिन्दाले बिरोध गरेका हुन् ।

संघीय सरकारले जिल्लाका आरुघाट, जौबारी, मकैसिङ प्राथमिक स्वास्थ्यकेन्द्र र सौरपानी स्वास्थ्यचौकीका लागि चार करोड दुईलाख रुपैयाँका दरले बजेट बिनियोजन गरेको थियो । तर गाउँपालिकाले सो रकम हुँडीखोलामा निर्माण हुने भनिएको गाउँपालिका स्तरीय अस्पताल निर्माणमा खर्च गर्न लागिएको स्थानीयबासीको आरोप छ ।

तर गाउँपालिकाले यस आरोप स्वाीकार गरेको छैन । स्थानीयबासीसँग छलफल र सहमति गरेर अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।
यो बिषयमा स्थानीयबासी र गाउँपालिकाले वार्ता र सहमति गर्नु जरुरी छ । गाउँपालिका एउटा कुरामा जिकिर गर्ने, स्थानीयबासी अर्को कुरामा जिकिर गर्ने गर्दा असमझदारी बढ्छ । विवाद बढ्छ । विवादले बिभिन्न बिकृत रुप लिनसक्छ ।

त्यसैले छिटोभन्दा छिटो वार्ता र संवादद्वारा समझदारी बनाउनु जरुरी छ । असमझदारी हुँदा सामान्य कुरा पनि मिल्दैन । समझदारी हुँदा नमिल्ने कुरा पनि मिल्न सक्छ । यो कोरोना ब्यबस्थापन गर्ने समय हो । यो समय बाढी पहिरो व्यवस्थापन गर्ने समय हो । यस्तो संवेदनशील अबस्थामा विवाद, मतभेद, बेमेल नगरी एकजुट, एकराय, एकमत भई मानव जगतको हितका पक्षमा जुट्नु पर्छ । वार्ता र संवादको वातावरण मिलाउनका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्