अझै पानी पर्दैछ, बाढी, पहिरोबाट बच्नू र बचाउनू
बिगत दुई दसकयता नपरेको पानी यसबर्ष परेको छ । बिगत दुई दसक यता नगएको बाढी यसबर्ष गएको छ । बिगत दुई दशकसम्म नगएको पहिरो यसबर्ष गएको छ ।
जिल्ला ठूला नदीहरु, त्रिशुली, मस्र्याङ्दी, बूढीगण्डकी, दरौंदी, चेपेलगायतका नदी तथा गाउँगाउँका खोलाखोल्सीमा पनि धेरै ठूलो भेलबाढी गएको छ । खेतहरु कटान भएका छन् । बगर बनेका छन् । पुल बगाएको छ । सडक भत्काएको छ । आवतजावत अबरुद्ध भएको छ ।
गाउँगाउँमा पहिरोले घर लगेको छ । गोठ लगेको छ । मान्छे पुरिएर मरेका छन्, पशुचौपाया परेका छन् । कैयौं बस्तीका बासिन्दा बिस्थापित भएका छन् ।
ताङ्लिचोक पातीस्वाँराको ५० घरधुरी रहेको बस्ती बिस्थापित भएको छ । बारपाक सुलीकोट १ तसरा गाउँका छ घर बिस्थापित भएका छन् । यस्ता धेरै उदाहरण छन् ।
दुई दिन अविरल पानी पर्दा यति बिघ्न आपत विपत भएको छ । अझै केही दिन यस्तै बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्ता बिपत अझै आइपर्न सक्छन् । त्यसैले यो बेला ज्यान जोगाउनु सबैभन्दा पहिलो प्राथमिकता हो । त्यस्तै आफन्तजन जोगाउनु, छरछिमेक जोगाउनु पर्छ । त्यसपछि घरबस्ती, गोठ, पशुचौपाया जोगाउनुपर्छ । अनि खेतबारीको संरक्षण गर्नुपर्छ ।
बाढी पहिरो नियन्त्रण गर्नु मान्छेको जातिको बलबुताले सक्दैन । तर मान्छेले व्यवस्थापन गर्न सक्छ । पूर्व सावधानी अपनाउन सक्छ । नियन्त्रण गर्न नसके पनि वुद्धि पुर्याएर बच्न सक्छ । त्यसैले यो बेला धेरैभन्दा धेरै संयमित भएर बाच्नु र बचाउनु पर्छ ।




