बालबिबाह अन्त्यका लागि अनुकरणीय अभ्यास
बालबिबाह अन्त्यका लागि धार्चे गाउँपालिकाले सकारात्मक सुरुवात गरेको छ । गाउँपालिकाले माध्यमिक तहका विद्यालयका शिक्षक र विद्यार्थीहरुको प्रयोग गरेर सातवटै वडामा बालबिबाह गर्नेहरुको तथ्याङ्क संकलन गरेको छ । जसअनुसार बिगत १० बर्षयता गाउँपालिकामा ५६३ जोडीले बालबिबाह गरेको पाइएको छ ।
गाउँपालिकाले बालबिबाह अन्त्य गर्न बालबिबाह सद्भावना दूत भनेर मिस आदिबासी जनजाति २०१९ एलिजा गुरुङलाई नियुक्त गरेको छ । र गाउँपालिकाले उनलाई गाउँपालिकाका सबै टोल बस्तीमा पुगेर बालबिबाह गर्नेहरुलाई भेटेर उनीहरुले बालबिबाह गर्नुपर्नाको कारण, बालबिबाह गरेपछि भोग्नु परेको समस्याहरुको अध्ययन, विश्लेषण गर्न आग्रह गरेको छ ।
उनले सोअनुसार काम सुरु गरिसकेकी छन् ।
अब दोस्रो चरणमा उनले गाउँबस्ती, आमा समूह, महिला समूह, विद्यालयहरुमा गएर बालबिबाह गर्दा हुने बेफाइदाको बारेमा सचेतनामुलक कार्यक्रम गर्नेछिन् । बालबिबाह गर्दा खेप्नुपर्ने कानूनी अड्चन, कारबाही पनि उनले जानकारी गराउने छिन् ।
त्यतिमात्र होइन, गाउँपालिकाले बालबिबाह गर्ने जोडीलाई पालिकाले दिने सेवा सुबिधाबाट बञ्चित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
धार्चे दुर्गममा रहेको गाउँपालिका हो । सदरमुकामबाट टाढा, सहरी सुविधाबाट पनि टाढा, भौगोलिक जटिलता, विद्यालय र गुणस्तरीय शिक्षाको पहुँचको अभाव, आधुनिक स्वास्थ्य सेवाको अभाव तथा गरिबी इत्यादिले गर्दा यहाँका प्राय बासिन्दा रुढीवादमा विस्वास गर्छन् । बालबिबाह पनि यस क्षेत्रको रुढीग्रस्त कुप्रथा हो । कतिपयमा सुधार आइसकेपनि कतिपय अझै यही बाध्यतामा छन् ।
धार्चेमा मात्र होइन, तल्लो भेगको कतिपय ठाउँमा पनि यस्तै अबस्था छ । यो परम्पराको अन्त्यका लागि धार्चेको प्रयास अनुकरणीय छ ।




