सर्बसाधारण बिरामीका लागि गोरखा अस्पतालको बाटो खुल्यो
बन्द भएको चार महिनापछि गोरखा अस्पतालको ओपिडी सेवा पुन सञ्चालनमा आएको छ । अस्पतालको आइसोलेशनमा बिरामी घटेसंगै अस्पतालले पूर्ववत रुपमा ओपिडी सेवा सञ्चालन गरेको हो । अब महंगो शुल्क तिरेर गोरखाका बिरामीले नीजि अस्पताल, क्लिनिक, मेडिकलहरुमा उपचार गराउन नगए पनि हुने भएको छ ।
यसको अर्थ नीजि स्वास्थ्य संस्थामा उपचार नगराउनू भन्ने होइन । सरकारी अस्पताल पनि सञ्चालन भएको छ है भन्न मात्रै खोजेको हो ।
अब गोरखा अस्पतालमा चेकजाँच र उपचार गराउन जानका लागि डराइरहनु पर्ने आवश्यकता पनि रहेन । किनभने आइसोलेशनमा जम्मा तीन जना छन् । उनीहरु चार तलामाथिको आइसोलेशन बेडमा छन् । उनीहरु बाहिर निस्कँदैनन् । बाहिरका मान्छे त्यहाँ भित्र पनि जाँदैनन् ।
उनीहरुको स्वास्थ्य अबस्था राम्रो छ । पिसिआर रिपोर्ट नेगेटिभ आउने प्रबल सम्भावना छ । नेगेटिभ आउने बित्तिकै उनीहरु पनि घर फर्कनेछन् । अझै पाँचसय ३९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी भएका कारण आइसोलेशन रित्तिनेछ भन्ने पूर्व अनुमान त गर्न सकिँदैन परन्तु उनीहरुको रिपोर्ट पोजेटिभ नआउने सक्ने सम्भावना ज्यादा छ भनेर अनुमान गर्न सजिलो छ । आधारहरु पनि छन् ।
ओपिडी सेवा तल्ला तल्लाहरुमा सञ्चालित छन् । त्यसैले कोरोनाका बिरामीहरुसँग डराएर उपचार सेवा नलिई बेथा साँचेर बस्नु पनि उचित छैन, डराएर सरकारी अस्पताल जानृु हुन्न कि भन्ने भ्रममा बस्नु पनि उचित छैन ।
अस्पतालले बिरामीहरुलाई निर्भीक भएर अस्पताल आउन स्वागत गरिसकेको छ । उपचार गर्ने ठाउँ पनि छ, जनशक्ति पनि छ, बाटो पनि खुलेको छ ।




