कोरोनासंग धेरै डराएर काम काज छाड्नु वुद्धिमानी होइन
गत डिसेम्बरबाट विश्वमा कोरोनाको अलिअलि चर्चा चल्न सुरु गरेको हो । ख्याल गर्दागर्दै छिमेकी मुलुलक भारतमा यसको संक्रमण फैलन थालेपछि नेपालले पनि लकडाउन गर्न बाध्य भयो । फलस्वरुप गत चैतको ११ गतेदेखि मान्छेहरु घरभित्रको भित्रै भए । सरकारी कार्यालय, नीजि उद्योग व्यापार व्यवसाय, विद्यालय सबका सब बन्द भए । मान्छेमा त्रासको बास हुन थाल्यो । आफन्तसंगै डराउन थाले । आफन्तलाई नै हेयको दृष्टिले हेर्न थाले ।
मान्छे देखेर मान्छे तर्सन, भाग्न थाले । आफन्त आफन्त बीच दुरी बढ्यो । हुँदाहुदै गाउँगाउँको बीचमा बार बन्देज लाग्न थाल्यो । पुल पुलमा ताल्चा लागे । घरघरको बीचमा बार हालाहाल भयो । कोरोना बाहेक अन्य बिरामी देखेर चिकित्सक तर्किन थाले । बिरामी आफन्त वा छिमेकीलाई बोकेर औषधी उपचार गराउन लैजान पनि तर्किन थाले मान्छे । शंकास्पद मान्छेलाई राख्न क्वारेण्टाइन बनाउने र संक्रमित मान्छेलाई ँराख्ने आइसोलेशन बनाउने ठाउँ नदिएर गाउँगाउँमा झैझगडा हुन थाल्यो । कोरोनाबाट मर्नेलाई गाड्ने ठाउँ नदिएर प्रहरी प्रशासनसंग झडप हुन थाल्यो ।
यसरी बिगत चार महिनाको अवधिमा मान्छेको जीवन संकटपूणर् भयो । तर अहिले कोरोना संक्रमण केही ठूलो कुरो होइन रहेछ भन्ने मान्छेहरुमा पर्न थालेको छ । सितिमिति कोरोना संक्रमणले आक्रमण गर्दैन रहेछ भन्ने ब्यबहारले सिकायो । कसरी बच्ने पनि सिक्दै गए । अहिले मान्छेहरु आ-आफ्नो काममा सहज रुपमा फर्किसकेका छन् । यातायात, विद्यालय, विश्वविद्यालय लगायतका सञ्चालन हुन बाँकी छन् । यी पनि क्रमशः सञ्चालन हुनेछन् । हुनु पनि पर्छ ।
डराएर होइन, व्यवस्थित रुपमा काम सुचारु गर्नुपर्छ ।




