| सोमवार, कार्तिक २३, २०८३

कोरोनामुक्त जिल्ला बनाउने अभियान सुरु गरौ

गोरखाका बिभिन्न क्वारेण्टाइनमा बस्नेहरुको संख्या ह्वात्तै घटेको छ । ११ वटै स्थानीय तहका क्वारेण्टाइनमा बस्नेहरुको संख्या घटेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क विश्लेषण गर्दा कुनैबेला १७० जनासम्म बस्ने गरेको बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनमा अहिले १० जना मात्र छन् । यो एउटा नमूना मात्र हो । यसरी नै सबै पालिकाका क्वारेण्टाइनहरु रित्तिदै छन् । धार्चे गाउँपालिकाको क्वारेण्टाइनमा अहिले एकजना पनि नरहेको गाउँपालिकाले जनाएको छ । सबैभन्दा पहिले कोरोना संक्रमित भेटिएका गण्डकी गाउँपालिकामा अहिले क्वारेण्टाइनमा बस्नेको संख्या जम्मा तीन छ ।

यसरी विश्लेषण गर्दा सुखद पक्ष पनि छ । यसको पछाडिको कारण हो, विदेशबाट आउनेको संख्या कम हुनु । एकाधलाई छाडेर जतिपनि क्वारेण्टाइनमा छन्, प्राय भारतबाट आउने छन् । केही नेपालकै बिभिन्न जिल्लाबाट आउने र केही तेस्रो मुलुकबाट आउने पनि क्वारेण्टाइनमा छन् ।

बाहिर जिल्लाबाट र तेस्रो मुलुकबाट आउनेहरुको कुरा अर्कै छ । कतिपय पालिकामा बोलवाला हुनेहरु ‘होम क्वारेण्टाइनमा बस्ने’ भन्दै घर पुगेका छन् । निमुखाहरु मात्र सामुहिक क्वारेण्टाइनमा छन् ।

कतिपय लुकीछिपी गरी, कतिपय ढिपी, जिद्धी गरी घरमै छन् । उनीहरुबाट परिबार र छरछिमेकमा संक्रमण बढ्ने सम्भावना पनि टाढा छैन ।

यदि यस्ता गतिविधिको नियन्त्रण गरियो भने अब क्वारेण्टाइनमा मात्र होइन, आइसोलेशनमा बस्ने पनि घट्नेछन् । अनि जिल्ला कोरोनामुक्त घोषणा गर्न पनि असम्भव छैन ।

छिटपुटबाहेक गोरखाको समुदायमा कोरोना फैलिएको छैन । फैलिएको ठाउँमा पनि नियन्त्रणबाहिर गएको छैन । अब लुकिछिपी प्रवेश गर्नेहरुलाई नियन्त्रण गर्न सक्यौं भने कोरोनामुक्त हुन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्