| शुक्रबार, चैत्र १६, २०८०

योजनाको गुणस्तरमा ध्यान दिऔ“

चौतर्फी प्रभाव पारेको कोभिड १९ ले बिकास निर्माणका काममा पनि ठुलो क्षती पुग्यो । काम हुने मूख्य सिजनमा कोरोनाको प्रभाव र अहिले वर्षात सुरु भएसँगै यस वर्ष स्थानीय, प्रदेश र संघिय सरकारको योजना, लक्ष्य अनुसार कहिँ कतैपनि काम हुन सकेको छैन । पछिल्लो केही दिन यता स्थानीय स्रोत साधन, जनशक्ति लगाएर काम थालिए पनि सबै ठाउँमा योजना अनुसार पुरा हुने संभावना न्यून छ ।

असार सुरु भएसँगै नियमित वर्षात चलिरहेको छ । बिकास निर्माणको योजना सडक खन्ने, पिच गर्ने, भबन निर्माण गर्ने, खानेपानी आयोजना बनाउने, खेलमैदान निर्माण गर्ने, सामुदायिक भबन लगायतका थुप्रै योजनामा अहिले पनि काम भईरहेको छ । दक्ष कामदारको अभावमा अर्धदक्ष कामदारलाई प्रयोग गरेर धमाधम काम हुँदा स्थानीयले रोजगारी त पाएका छन् तर आयोजनाले दिने उपलब्धी कस्तो हुन्छ भन्ने आशंका बढेको छ । निर्माण ब्यवशायीले काम सिध्याउने, कार्यालयमा असार भित्र भुक्तानी दिन दबाव सिर्जना गर्ने अवस्थाले गुणस्तरहिन काम हुन सक्छ । पानी परिरहेको बेला सडक निर्माण गरिरहेका, मैदान खनिरहेका, भबन ढलान गरिरहेका दृष्य हिजोआज देखिन्छ । कोरोना अघिको नौ महिना काम सुरु नै नभएका ठाउँमा अहिले रातदिन काम भएका छन् । कोरोनाको प्रभाव अघि जनशक्ति र स्रोत साधन हुँदा, निर्बाद काम गर्ने अवसर कार्यालय, ब्यवशायी, उपभोक्ता सबैले गुमाए ।

एकातिर कोरोनाको असर, अर्कोतिर कामदार अभावका कारणले ढिला गरी सुरु भएका सबै योजनामा प्राविधिक पुग्ने संभब छैन । हरेक योजना आफ्नै आँखाले स्थलगत हेरेर भुक्तानी दिन सक्ने अवस्थामा प्राविधिक, लेखा, र कार्यालय प्रमुखलाई चुनौती छ । यो वर्ष कोरोना बिपत्ती सँगैको वर्षातले थाती कामलाई हतार हतार झारा टार्ने गरी सिध्याउनु भन्दा नियमित र क्रमागत रुपमा आउँदो वर्ष पुरा गर्ने नीति लिदाँ गुणस्तरीय र प्रभावकारी काम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्