एम्बुलेन्स चालकलाई यथेष्ट प्रोत्साहनको खाँचो
कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फ्रन्ट लाइनमा काम गर्ने अर्को जनशक्ति हो एम्बुलेन्स चालक । उपरोक्त दुई जनशक्तिलाई सर्वसाधारणले यथेष्ट मर्यादा गरेका छन् । धेरै आड भरोसाका स्रोत मानेका छन् । सरकारले उपरोक्त दुवै फ्रन्टलाइनरलाई प्रोत्साहन भत्ता तथा सुविधाको व्यवस्था गरेको छ । तर अर्का फ्रन्टलाइनर एम्बुलेन्स चालक उपेक्षामा परेका छन् ।
उनीहरुको मानसिक, शारीरिक संघर्षलाई न सर्वसाधारणले तौलेका छन्, न सरकारले ।
अहिले पालिका, पालिकामा कोरोना संक्रमित भेटिएका छन् । उनीहरुलाई बोक्न जाने यिनै एम्बुलेन्स चालक हुन् । तर उनीहरुलाई न गतिलो पिपिईको व्यवस्था छ, न त पिपिई लगाउने र डिस्पोज गर्ने विधि सिकाइएको छ । न स्वास्थ्य सावधानी अपनाउने तरिका सिकाइएको छ ।
स्वाब लिएर काठमाडौं पोखरा जाँदा खाजा तथा खानाको अतिरिक्त व्यवस्था समेतको व्यवस्था नहुने गरेको उनीहरुको गुनासो छ । बिरामी लिएर जाँदा वा फर्कदा बाटोमा खाजा, खाना नपाइने, पानी समेत किनेर खान नपाइने उनीहरुको मर्मस्पर्शी अनुभव छ ।
घरमा जाँदा घरबेटीले छिर्न नदिने, जहान परिबार पनि तर्कने, छरछिमेकले पनि छिछिदुरदुर गर्ने गरेको उनीहरुको दुखेसो छ । त्यस्तै संक्रमित बोकिसकेपछि लामो समय क्वारेण्टाइन बस्नु पर्दा कामबाट बञ्चित हुने, जसले गर्दा साँझ बिहान हातमुख जोर्न समेत धौ हुने गरेको उनीहरुको पिरलो छ । त्यतिमात्र होइन, अरुहरु क्वारेण्टाइनमा बस्दा खानेबस्ने व्यवस्था सरकारले गर्ने त एम्बुलेन्सचालकहरु आफ्नै व्यवस्थामा क्वारेण्टाइनमा बस्नुपर्ने बाध्यता छ ।
यो उनीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान पुगोस् ।




