| शुक्रबार, बैशाख ७, २०८१

कोरोना त्रास ः पूर्व सावधानी अपनाऔं

प्राणघातक कोभिड १९ (कोरोना भाइरस) फैलिने त्रासले अहिले धमाधम सार्वजनिक कार्यक्रमहरु स्थगित भइरहेका छन् । गोरखामा यो हप्ता हुने भनेका आधा दर्जनभन्दा धेरै कार्यक्रम स्थगित भएका छन् भने एक महिनापछिका लागि तय भएका कार्यक्रम स्थगित गर्ने नगर्ने भन्ने बारे छलफल सुरु भएको छ । लाखभन्दा धेरैजनामा कोरोना संक्रमणका कारण विश्व अहिले आक्रान्त छ । कुनै रोगको महामारीका कारण विश्व नै अहिले झै त्राहिमाम यसअघि शायदै भएको थियो । विश्वका साराका सारा काम प्रभावित भएका छन् । ट्वीटर कम्पनीले आफ्ना कर्मचारीलाई निवासबाटै काम गर्न निर्देशन दिएको छ । विश्वका वायुसेवाहरु प्रभावित भएका छन् । कैयौँले विदेश उँडान बन्द गरेका छन् । नेपालले पनि भ्रमण बर्षको महाअभियान बन्द गरेको छ । विद्यालय, महाविद्यालयहरु बन्द गर्ने तयारी भएका छन् । मेला, महोत्सव, औपचारिक सभा, समारोहहरु स्थगित गर्न निर्देशन भएको छ ।
एक महिनाभित्र समाधानको निकास निस्केला भन्ने धुमिल आशा सबैमा छ तर यसको कुनै निश्चितता छैन । त्यसैले यो जटिल परिस्थितिलाई हृदयंगम गरी सावधान हुनुपर्छ । कसैकसैले यसोगरे कोरोना लाग्दैन वा लागेपनि निको हुन्छ भनेर मनगढन्ते सन्देश सार्वजनिक गरिरहेका छन् । जस्तो कि रक्सीले खाए कोरोना भाग्छ, नेपालीहरुको प्रतिरोधात्मक क्षमता यसै धेरै छ, नेपालीलाई कोरोना लाग्दैन, गाँजाको सेवनले कोरोना लाग्दैन जस्ता बेकारका तर्कहरु गरिन्छ । यस्ता बेतुकका कुरामा विश्वास गर्नुहुदैन । जरुरी कामबाहेक हुलचालमा जानुहुदैन । धुलो,धुवाबाट बच्न मास्क लगाउनुपर्छ । रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्