| बुधबार, चैत्र २६, २०७६

editorial

केही ठेकेदारका काम आशा लाग्दा

ठेक्का लिने, काम नगर्ने समस्या देशव्यापी छ । गोरखामा पनि यो रोगबाट अछुत छैन । धेरै पुल, सडक, भवन, खानेपानी, सिँचाइ लगायतका योजना ‘क्रोनिक’ भएर बसेका छन् । निर्माणको जिम्मा लिएर बिभिन्न बाहाना बनाउँदै समयमा काम नसिध्याउने प्रवृत्ति नेपाली ठेकेदारका विशेषता जस्तै बन्दै गएको छ । बिकास निर्माण कामको जिम्मा लिँदै अलपत्र छाडेर वेपत्ता हुनु ठेकेदारहरुको ‘ठगदार संस्कृति’ नै बनिसकेको छ ।

समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साँटो पटक पटक म्याद थपिदिएर प्रोत्साहन गर्ने प्रवृत्तिले नियमक निकाय ठेकेदारका अगाडि निरिह सावित हुनु लज्जाको बिषय हो । कामको जिम्मा लिएर अलपत्र पार्ने, समयमै नसक्ने ठेकेदारको प्रवृतिका कारण जनताले सास्ती खेपिराखेका छन् ।

तर, केही त्यस्ता उदाहरण पनि छन्, जसले निर्माण व्यवसायी यस्ता पनि हुन्छन् भन्ने उदाहरण पेश गरिरहेका छन् । विशेषगरी जिल्ला प्रशासन कार्यालय, गोरखा अदालत, सरकारी वकिल कार्यालय, राष्टिूय अनुसन्धान कार्यालय निर्माणको काम आशा लाग्दो छ । अहिले कालोपत्रे हुदै गरेको नयाँगाउँ सिरानडाँडा सडक, चोरकाटे चित्रेपोखरी सडक, ढुंगागाढे नाम्जुङ सडक र पालुङटार नयाँपुल सडक कालोपत्रे गर्ने कामको प्रगति अत्यन्त उत्साहजनक छ । त्यस्तै ढोडेनी सिम्जुङ भच्चेक सडकको १४ किलोमिटर ग्राभेल गर्ने काम पनि सन्तोषजनक छ ।

यी काम निर्धारित समयसीमा भन्दा अघि नै सम्पन्न हुने आशा गरिएको छ । जिम्मा लिएका ठेकेदार नै निरन्तर साइटमा आउने जाने गरिरहन्छन् । प्रसस्त जनशक्ति प्रयोग गरेका छन् । ‘म्यानपावर, मनी, मेसिन र मेनेजमेण्ट’ राम्रो भएकाले यी काम उदाहरणीय भएका हुन् । निर्माण व्यवसायीले यस्ता सकारात्मक सन्देश दिने कामको अध्ययन अवलोकन गरी यस्तो काम गर्ने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्