| शनिबार, बैशाख ८, २०८१

धर्म प्रचार गर्न प्रतिवन्ध गर

नेपाल धर्म निरपेक्ष मुलुक हो । त्यस्तै यो बहुधार्मिक, बहुसांस्कृतिक, बहु भाषिक मुलुक पनि हो । संविधानतः आफूले इच्छाएको धर्म मान्न पाउने ब्यबस्था छ । तर गोरखामा धर्म प्रचार गर्ने काम जोडतोडका साथ भइरहेको छ । विशेष गरी विदेशी नागरिकले बर्षौँदेखि क्रिश्चियन धर्म प्रचार गरिरहेका छन् ।

पोखरा क्याम्पसमा भर्ना भएर गोरखामा धर्म प्रचार गर्नेहरुमा जापानिज नागरिकहरु सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा हुन् । सिनो सिकारा कन्कोको डिपेन्डेन्ट भिजामा बस्दै आएका छन् । उनको मुख्य पेशा धर्म प्रचार गर्ने हो ।

मिसा तोमिनागा पर्यटक भिजामा गोरखा आएका जापानी हुन् । मिसा र सोरी तोमिनागा दुबै जना पर्यटक भिजामा आएका छन् । उनीहरु हरेक वर्ष छदेखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्छन । अर्का जापानी नागरिक अवन सुक गोरखाको गण्डकी गाउँपालिकामा छ वर्ष अघिदेखि बस्दै आएका छन् । चर्च बनाउने, भबन सहयोग गर्ने बहानामा बाईवल पढाउने, लत्ताकपडा, बालवालिकालाई खेलौना दिने गर्दै उनले धर्म प्रचार गरिरहेका स्थानीयबासी बताउँछन् ।

उनीहरु गोरखा नगरपालिका ७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा आवद्ध भएर घरघर, कोठाकोठामा पसेर, सडक सडकमा भेटिएकालाई धामिर्क पोष्टर, पम्प्लेट, बाइबल बाँड्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्मको बारेमा प्रचार गर्ने गर्छन । उनीहरुले मोटरसाइकल, स्कुटी लगायतका सवारी साधन समेत चलाएर हिडिरहेका हुन्छन् ।

बिहानै कोठाकोठा, घरघर चहारेर धर्म प्रचार गर्ने, बिभिन्न प्रलोभन र आश्वासनमा प्रभावित पारी धर्म परिवर्तन गराउन बाध्य पार्ने जस्ता काममा उनीहरु लागिरहेका छन् ।  एउटा उद्देश्यले आएर अर्को काम गर्नु दण्डनीय हो । त्यसमाथि पनि धर्म परिवर्तन गराउने काम संविधानतः प्रतिवन्धित काम हो । यसप्रति स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्