| बुधबार, चैत्र २६, २०७६

editorial

केराबारीमा जस्तो भ्रष्टाचार अन्यत्र पनि

नेपाने मावि केराबारीका प्रधानाध्यापक शिवकुमार साहले लाखौं रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ । साथै उनको मतियार बनी फर्जी कागज बनाएको अभियोगमा शिक्षा विकास तथा समन्वय इकाइका सव इञ्जिनियर विकास झा विरुद्ध पनि मुद्धा दर्ता गरेको छ ।

शिवकुमार साहविरुद्ध विभिन्न चार शीर्षकमा आर्थिक हिनामिना गरेको अख्तियारको ठहर छ । विकास झाविरुद्ध विभिन्न दुईवटा शीर्षकमा फर्जी कागज बनाएको ठहर अख्तियारको छ । शिवकुमार साहले रेटूो मेन्टेनेन्सबापत प्राप्त दुईलाख पचास हजार र मर्मत शीर्षक जम्मा एक लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ ।

त्यस्तै विद्यार्थीलाई वितरण गर्न आएको छात्रवृत्ति रकम, पोशाक तथा झोला वितरणका लागि प्राप्त रकम र सौचालय निर्माणका लागि प्राप्त कूल पाँचलाख ९५ हजार रुपैयाँ सम्बन्धित काम नै नगरी हिनामिना गरेको अख्तियारको अनुसन्धानले ठहर गरेको छ । त्यस्तै किताब खरिद र लाइबे्ररी फिक्सिङका लागि प्राप्त छ लाख ५० हजार रुपैयाँ र टूष्ट भवन निर्माणका लागि प्राप्त १६ लाख रुपैयाँमध्य ११ लाख १० हजार हिनामिना गरेको अख्तियारको ठहर छ ।

त्यस्तै भवन निर्माणका कामहरुमा प्रअ साहसंग मिलेमतो गरी फर्जी कागज बनाई बिल भरपाई फस्र्यौट गरेको आरोप प्राविधिक विकास झामाथि छ ।  भूकम्पपछि जिल्लामा करिब पाँचसय वटा विद्यालय भवन बने । ती सबैमा त भन्न सकिँदैन, तर प्राय भवन निर्माणमा यसखालका काम भएका छन् ।

लाइब्रेरी, कम्प्यूटर ल्याब, विज्ञान, गणित तथा अंग्रेजी ल्याबका लागि प्राप्त बजेटमा त करिब ७५ प्रतिशत नै रकमान्तर तथा हिनामिना भएको छ । यसको छानबिन हुन जरुरी छ । पुराना किताबका बिल तथा पुराना ल्याबका फोटो पेश गरी बिल पास गर्ने काम अध्याधिक भएका छन् । यसको पनि छानबिन होओस् ।

प्रतिक्रिया दिनुहोस्